
सुर्खेत । वीरेन्द्रनगर जेसीजको आयोजनामा आगामी जेठ ३ गते वीरेन्द्रनगरमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर मेटलाइफ (अमेरिकन लाइफ बीमा कम्पनीको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतको सेमिनार हलमा हुन लागेको हो ।
शिविरबारे आइतवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत शिविरका संयोजक तथा जेसीज सुर्खेतका पूर्व अध्यक्ष श्याम कुमार थापाले बजार क्षेत्रमै स्वास्थ्य शिविर आवश्यक भएको महसुस गर्दै शिविर सञ्चालन गर्न लागेको बताए । “ग्रामीण क्षेत्रमा त धेरै स्वास्थ्य शिविर देखियो, तर बजार क्षेत्रमा यस्ता कार्यक्रमको अभाव छ,” उनले भने, “त्यही कारण हामीले वीरेन्द्रनगर क्षेत्रका बस्तीलाई लक्षित गरेर यो शिविरको आयोजना गर्न लागेका हौँ।”
थापाका अनुसार शिविरबाट करीब ३०० जना भन्दा बढी सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ । उनले शिविरमा रक्तचाप (विपी) जाँच, रगतमा चिनी (सुगर) जाँच, सामान्य दन्त परामर्श तथा मुख स्वास्थ्य परीक्षण, स्त्रीरोगसम्बन्धी परामर्श, नाक, कान, घाँटी सम्बन्धी जाँच र सल्लाह, हाडजोर्नी तथा हड्डी सम्बन्धी परीक्षण र सामान्य चिकित्सकीय जाँच तथा परामर्श सेवा उपलब्ध हुने बताए ।
स्वास्थ्य सचेतना अभिवृद्धि, प्रारम्भिक रोग पहिचान, विशेषज्ञ सेवा र दीर्घकालीन रोग भएका बिरामीलाई एक महिनासम्म निःशुल्क औषधि वितरण गरिने जानकारी दिए । वीरेन्द्रनगर जेसीजका अध्यक्ष दिलीपजंग शाहीले आम नागरिकलाई शिविरबाट अधिकतम लाभ लिन आह्वान गरे । उनले शिविरमा झुप्राखोलाको बादी समुदाय र गिरीघाटका बाढीपीडितहरूलाई लक्षित गरिएको उल्लेख गर्दै उनीहरूलाई निःशुल्क बसमार्फत शिविरस्थलसम्म ल्याउने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार शिविरमा कन्सल्टेन्ट (ईएनटी) टाउको तथा घाँटी शल्याचिकित्सक विशेषज्ञ सेवा डाक्टर पारश पौडेल, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डाक्टर शुभ श्रेष्ठ, कन्सल्टेन्ट स्त्रीरोग विशेषज्ञ सेवा डाक्टर कृतिका थापा श्रेष्ठ, कन्सल्टेन्ट फिजिसियन डाक्टर कुलराज शाही र कन्सल्टेन्ट ओर्थोडन्टिक्स डाक्टर सुरक्षा सिंह ठकुरीले निःशुल्क सेवा दिने छन् ।