२०८३ वैशाख ४ , शुक्रबार

वृद्धा महिलालाई ठक्कर भागेका ट्रक चालक पाँच दिनसम्म पनि फरार



सुर्खेत । गत शुक्रवार अपराह्न वीरेन्द्रनगर बजारको मूलपानी चोक नजिकै जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी वृद्धा महिला ट्रकको ठक्करबाट घाइते भइन् । घाइते हुनेमा दैलेख भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी ७२ वर्षीया तुलसी जैशी रहेकी थिइन् ।

शुक्रवार जैशीलाई बाँगेसिमलतर्फ जाँदै गरेको भे १ ख १९३६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी जैशीको प्रारम्भिक उपचार प्रदेश अस्पताल सुर्खेतमा गरिएको थियो । तर अवस्था जटिल हुँदै गएपछि उनलाई नेपालगञ्ज रिफर गरिएको थियो ।

नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ लगिएको र हाल त्यहाँ उपचार भइरहेको छ । दुर्घटना भएको पाँच दिन बितिसक्दासमेत ट्रक चालक अछामका जीवन कामी हालसम्म पनि फरार छन् । खोजिकार्यमा प्रहरी निरन्तर लागे पनि उनलाई पक्राउ गर्न सफल हुन सकेको छैन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाले पाँच दिनसम्म पनि उनलाई पक्राउ गर्न नसकिएको बताए । ‘दुर्घटना भएको पाँच दिन भइसक्यो, गाडी साहु पक्राउ परे, तर चालक पक्राउ पर्न सकेका छैन्,’ उनले खबरदृष्टिसँग भने, ‘हामीले निरन्तर खोजि गरीरहेका छौँ,’

यस्तै एक प्रहरी अधिकृतले उनको मोबाइल स्वीच अफ भएको हुँदा लोकेशन ट्रयाक गर्न समस्या भएको बताए । ‘हामीले लोकेशन ट्रयाक गर्ने हो, तर उनको मोबाइल दुर्घटना भए लगत्तै मोबाइल अफ छ, त्यसले गर्दा पनि निकै समस्या भएको छ,’ ती अधिकृतले भने, ‘हाम्रोबाट असई सापको कमाण्डमा सादा पोशाकमा करिब ५ जनाको टोली परिचालन भएको छ यस्तै ट्राफिकबाट पनि करिब १३ जनाको टोली लागिरहेको छ ।,’

प्रकाशित मिति : २०८२ वैशाख ३० गते मंगलबार