
सुर्खेत । सामुदायिक विद्यालय शिक्षाको मेरुदण्ड मानिए पनि सुर्खेतको सिम्ता गाउँपालिकाभित्रका विद्यालयहरूले अभिभावकसँग ‘सहयोग शुल्क’ को नाममा अत्यधिक रकम असुलेको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी गरिब, विपन्न तथा सामान्य आम्दानी भएका परिवारहरूबाट जबरजस्ती शुल्क लिएकोप्रति अभिभावकहरू आक्रोशित भएका छन् ।
सरकारी लगानीमा सञ्चालन हुने सामुदायिक विद्यालयमा समेत शिक्षालाई व्यापारिक ढंगले अगाडि बढाइएको भन्दै उनीहरूले गम्भीर आपत्ति जनाएका छन् ।सिम्ता गाउँपालिका–१, सुन्तोलास्थित सूर्य ज्योति माध्यमिक विद्यालयले ‘शैक्षिक गुणस्तर अभिवृद्धि’ का नाममा अनावश्यक शीर्षकहरू खडा गरी कक्षा अनुसार फरक–फरक दरमा चर्को शुल्क असुली गरेको पाइएको छ ।

खबरदृष्टिको सम्पर्कमा आएका अभिभावकहरूका अनुसार विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीबाट ७०० सय रुपैयाँ, कक्षा ६ का विद्यार्थीबाट २ हजार, कक्षा ७ मा २ हजार एक सय, कक्षा ८ मा २ हजार २ सय, कक्षा ९ मा २ हजार ४ सय र कक्षा १० मा २ हजार ५ सय रकम लिने गरेको अभिभावकको भनाइ छ ।
कतिपय अवस्थामा त बिल काटेर शुल्क लिइएको भए पनि केही अवस्थामा बिल नै नदिई पैसा लिइएको अभिभावकहरूको गुनासो छ । केही अभिभावकहरूले खबरदृष्टिलाई उपलब्ध गराएको बिलअनुसार विद्यालयले अनिवार्य रूपमा ‘विद्यार्थी परिचयपत्र’ का नाममा ३ सय, ‘अभिभावक सहयोग शुल्क’ ३ सय, ‘परीक्षा तथा मूल्यांकन सहयोग’ ५ सय, ‘अतिरिक्त क्रियाकलाप सञ्चालन सहयोग’ ३ सय र ‘खेलकुद सहयोग’ अन्तर्गत ४ सय रुपैयाँ लिएको छ ।

यद्यपि उक्त बिलमा विद्यार्थीको कक्षा उल्लेख गरिएको छैन भने कतिपय बिलमा विद्यार्थीको नाम वा संख्या समेत प्रष्ट नभएको देखिन्छ । ‘शिक्षा निःशुल्क हुने भनिए पनि व्यवहारमा त्यस्तो देखिँदैन’, एक अभिभावकले खबरदृष्टिसँग भने, ‘छोराछोरी भर्ना गराउँदा सुरुमै यति धेरै रकम बुझाउनु प¥यो, गरीबको छोराछोरी कसरी पढ्ने ?’ यता विद्यालय प्रशासनले यस्तो शुल्क असुली शिक्षकहरूको अभाव र विद्यालयको आर्थिक स्रोत नहुँदा विवशतावश लिएको तर्क दिएको छ ।
विद्यालयले निजी स्रोतबाट नियुक्त शिक्षकहरूलाई तलब दिन, अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न र अन्य भौतिक सुधारमा रकम आवश्यक परेको भन्दै अभिभावकसँग सहयोग मागिएको दाबी गरेको छ । तर विद्यालयले भर्ना शुल्क बुझाएमा मात्रै विद्यार्थी भर्ना गर्ने गरेको अभिभावकको दाबी छ । यस विषयमा बुझ्न विद्यालयका प्रधानाध्यापक इन्द्र रानालाई सम्पर्क गर्न खोज्दा उनलाई फोन लाग्न सकेन् ।
यता सिम्ता गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष यामराज शर्माले विद्यालयले चर्काे शुल्क लिएको हल्ला सुनेको बताए । उनले विद्यालय व्यवस्थापन समितिको बैठक बसेर अभिभावक शुल्क लिने निर्णय गरेको बताए । ‘मैले पनि गाउँमा हल्ला सुनेको हो प्रअलाई सोधेको विव्वसको निर्णयबाट लिएको बताउनुभयो,’ उनले खबरदृष्टिसँग भने, ‘अधिकारीक के रहेछ अभिभावकसँग बुझौँला ।,’
यता सिम्ता गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धी बहादुर गौतमले विद्यालयबाट शुल्क असुली गरिएको विषयमा केही जानकारी आएको बताए । तर उनले अहिलेसम्म बाध्यात्मक रूपमा रकम लिएको आधिकारीक गुनासो नआएको बताए । ‘यदि जबरजस्ती रकम असुली गरिएको छ भने त्यो गलत हो, उनले भने, ‘हामीले तुरुन्त छानबिन गर्छौं र आवश्यक कारबाही अघि बढाउँछौं,’