२०८३ वैशाख ७ , सोमबार

माओवादीले हत्या गरेका पत्रकार डेकेन्द्र थापाको सालिकमा प्रचण्डको माल्यार्पण



दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले पत्रकार डेकेन्द्र थापाको सालिकमा माल्यार्पण गरेका छन् । तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वको समयमा विद्रोही पक्ष नेकपा माओवादीबाट निर्मम हत्या गरिएका पत्रकार थापाको सालिकमा सोमबार अध्यक्ष प्रचण्डले माल्यार्पण गरेका हुन् ।

दैलेख बजारको डेकेन्द्र चौकस्थित थापाको सालिकलाई फूलमालाले माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन समयमा गरिएको थापाको हत्याप्रति आत्मालोचना गरे । प्रचण्डले स्वर्गीय पत्रकार थापाको घरमा पुगेर आमा गंगादेवी थापालाई समेत भेटेका छन् ।

गंगादेवीसँगको भेटमा प्रचण्डले उतिबेला पार्टीबाट थापाको हत्या गरिनु ठूलो गल्ति भएको स्वीकार गरे । दैलेख जिल्ला कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका थापालाई द्वन्द्वकालमा माओवादीले अपहरण गरी हत्या गरेको थियो । माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका थापाको २७ साउन २०६१ मा नौमुले गाउँपालिकाका–१, द्वारीस्थित नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो ।

थापाको हत्या भएको २० वर्ष पुग्दा पनि उनका परिवारले अझै न्याय पाएको अुनभूति गर्न पाएका छैनन् । राज्यले नै संरक्षण गर्दा हत्यामा संलग्न व्यक्तिहरूले उन्मुक्ति पाइरहेको परिवारको गुनासो छ ।

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार