
४२ वर्षीय नन्दलाल भुसाल
कुलेन्द्र शाही, सुर्खेत । गुर्भाकोट नगरपालिका–२ सानोपिप्लेका ४२ वर्षीय नन्दलाल भुसाल गाउँमै बसेर कृषि, पशुपालन, मौरी पालन, कुखुरा पालन लगायत विविध व्यवसायमार्फत आत्मनिर्भर जीवन बिताइरहेका छन् । उनले न आफ्नो पेसा छाड्ने सोच बनाएका छन्, न शहरतिर भाग्ने रहर । विगत एक दशकभन्दा बढी समयदेखि उनी यसै क्षेत्रमार्फत आत्मनिर्भरता मात्रै होइन, अरूलाई पनि रोजगारी दिने सोच बनाइरहेका छन् ।
नन्दलालको दिनचर्या बिहान ४ बजे सुरु हुन्छ । उनी उठ्ने बित्तिकै भैँसीलाई कुँडो (आहारा) तयार पार्न आगोमा राख्छन् र गाई दुहुन जान्छन् । दूध तयार भएपछि उनी खरिगैरा बजार पुग्छन्, जहाँ नजिकैका किसानहरूसँगको सहकार्यमा अन्य कृषकको दूधसमेत सङ्कलन गरेर आफ्नै गाडीमार्फत वीरेन्द्रनगरसम्म पठाउँछन् । त्यसपछि घर फर्केर नास्ता गर्छन्, फेरि भैँसीलाई घाँस खुवाउने, गोठको सफाइ गर्ने, घाँस काट्न जाने जस्ता कार्यमा व्यस्त रहन्छन् ।
उनका ७२ वर्षीय बुवा पुनराम भुसालले समेत उनलाई सहयोग गर्ने गर्छन् । व्यस्त समयमा बुबाले भैँसीलाई पराल, घाँस खुवाउने काम गर्छन् । पशुपालन मात्रै होइन, उनी मौरी पालन, कुखुरा पालन, आलु, काउली, मकैजस्ता मौसमी तरकारी खेतीमा पनि सक्रिय छन् । आफ्नो घरमै कुटानी–पिसानी मिल जडान गरेका छन् जसले गाउँकै अन्य किसानहरूलाई पनि सुविधा पुगेको छ । हाल उनको गोठमा एक दुहुनो गाई, तीन वटा ब्याउने भैँसी र एक सानो पाडो छन् ।
उनकै नेतृत्वमा सहकारी
नन्दलाल ‘हरियाली कृषि बजार सहकारी संस्था’का अध्यक्षसमेत हुन् । दिउँसो उनले सहकारी कार्यालयमा समय बिताउने गर्छन् । जहाँ उनी किसानहरूका समस्या सुन्ने, समाधानका उपाय खोज्ने तथा सहकारी व्यवस्थापनमा जुट्ने गर्छन् । सहकारीमार्फत कृषि सामग्री, बीउ विजन, बजार सञ्जाल, कृषि कार्यक्रममा लगानी (ऋण दिने) गरेको उनी बताउँछन् ।
सहकारीमा सदस्यहरू नआएको समयमा उनी घरमा भैँसीलाई घाँसपात गर्न समेत भ्याउँछन् । ‘सहकारीमा मान्छे नआएको समयमा घरमा आएर भैँसीलाई घाँस पानी दिन्छु,’ उनले भने, ‘मलाई आफ्नो भन्दा पनि यही भैँसी र गाइको माया बढी लाग्छ ।,’
सोलार बोकेर सल्यान पु¥याएको अनुभव
जब खबरदृष्टिले उनको स्टोरी लेख्नलाई कुही कुरा साध्यो । त्यसपछि उनले सुरु गरे विगतका तिता–मिठा कहानी । उनले करिब ९/१० वर्षअगाडि गाउँमै किराना पसल राखेर जसोतसो जीवन चलाउने गरेको बताए । किराना पसलबाट सोचअनुरूप कमाई नभएपछि उनले सोलार बोकेर घरघरमा जाने निर्णय गरे ।
त्यति बेला पैसा कमाउने जोसले आफूले सोलार बोकेर सल्यान, भेरीगंगा, गुर्भाकोटजस्ता ठाउँहरूमा बेच्न गएको अनुभव सुनाए । ‘त्यो बेला गाडी पाइँदैनथ्यो, सोलार बोकेरै हिँडेर गाउँ गाउँमा बेच्न जान्थेँ,’ उनले भने, ‘आजका दिनमा भने हरेक ठाउँमा गाडी जान्छ सजिलो भएको छ ।,’
वार्षिक ३-४ लाख आम्दानी
उनको गोठमा अहिले भैसीहरु लामबद्ध छन् । एउटा गाई दुहुनो छ । एउटा गाई र ४ भैँसी जना अझै ब्याउने छन् । उनले अहिले करिब १२ लिटर दूध सुर्खेत डेरीमा पठाउने गरेका छन् । उनले भने, ‘अहिले त अझै गाइको मात्रै दुुध छ पछि भैँसी ब्याएपछि राम्रो कमाई हुन्छ,’ हाल उनले गाई र भैँसीको दूध, घिउ बेचेर वार्षिक ३÷४ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
भविष्यमा झन् धेरै भैँसी राख्ने, गोठ विस्तार गर्ने र ज्यालादार मजदुर राखेर व्यवसायलाई व्यावसायिक बनाउने योजना बनाएको उनी बताउँछन् । ‘मैले दुई–तीन जनालाई रोजगारी दिने सोच बनाएको छु, तर गाउँमै काम गर्न चाहने मान्छे छैनन्,’ उनले दुःखेसो पोखे । उनले वास्तविक किसानलाई सरकारले नचिनेको गुनासो पोख्छन् ।
पेसाबाट सन्तुष्ट, सरकारप्रति गुनासो
सबैलाई किसान चाहिने भए पनि किसान सरकारको नजरको महत्वमा नभएको उनी बताउँछन् । ‘सबैलाई किसान चाहिन्छ, तर किसानलाई सरकारको नजरमा महत्त्व छैन, उनी भन्छन्, ‘यहाँ न जनशक्ति छ, न सहयोग । कृषक आफैँ जोतिएर अघि बढ्नुपरेको छ ।,’ यद्यपि यस्ता चुनौतीबिच पनि आफू र परिवार कृषि र पशुपालन पेसाबाट सन्तुष्ट भएको उनले बताए ।
गाउँमै बसेर मेहनत गर्दै आफ्नो परिवार पाल्नु मात्रै होइन, आफूलाई हेरेर अरूले पनि कृषि पेसा गर्न आफूले प्रेरित गरेको बताउँछन् । ‘मलाई अरू भन्दा पनि कृषकसँग बस्न, कुरा गर्न, सहयोग गर्न मन लाग्छ,’ उनले भने, ‘तर पछिल्लो समय कृषि र पशु पालनमा खासै कसैको ध्यान छैन,’ सरकारको पनि उपेक्षामा कृषक परेको उनको गुनासो छ ।
उनले सरकारको उपेक्षामा परे पनि यस पेसालाई अन्य पेसाप्रति इच्छा नभएको बताए । निरन्तर १० वर्षसम्म यसै पेसाबाट राम्रो आम्दानी गरेर जीवन निर्वाह गर्ने सोच बनाएको उनको भनाइ छ ।