डोल्पा । यार्सागुम्बा संकलनका लागि डोल्पा पुगेका दुई समूहबीच झडप भएको छ। शनिबार दिउँसो ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार पूर्वी रूकुमको मैकोट गाउँका स्थानीय र डोल्पाको काईके गाउंपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयहरुबिच झडप भएको हो।
उनीहरूबीच यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भई झडप भएको थियो। दुवै पक्षका गरी अन्दाजी ७ सय मानिसहरू रहेको डिएसपी थापाले जानकारी दिए। स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले २ राउन्ड हवाइ फायर गरेको पनि डिएसपी थापाले जानकारी दिए। अहिले त्यहाँको अवस्था सामान्य रहेको उनले बताए।
प्रकाशित मिति : २०८२ जेठ १० गते शनिबार