
सुर्खेत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कर्णाली प्रदेश महासंघको प्रथम परिषद् भेला आज वीरेन्द्रनगरमा सुरु भएको छ । भेला कर्णाली प्रदेश महासंघका अध्यक्ष भवानी प्रसाद अधिकारीको अध्यक्षता र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा सुरु भएको हो । परिषद्को उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले गरेका हुन् ।
उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री कँडेलले देश संघीय संरचनामा गए पनि सामुदायिक वन संगठन अझै केन्द्रमै आधारित रहेको उल्लेख बताए । उनले कर्णालीको समृद्धि र विकासका लागि सामुदायिक वन क्षेत्रलाई मुख्य आधारका रूपमा अघि सार्नुपर्ने बताए ।
‘तपाईंहरूले प्रतिनिधित्व गर्नुभएको क्षेत्र कर्णालीको आर्थिक समृद्धिको मेरुदण्ड हो,’ मुख्यमन्त्री कँडेलले भने, ‘हामीले यस क्षेत्रलाई संरक्षण गर्दै विकासको पाटोमा लैजानुपर्छ।,’ कर्णालीलाई अन्य प्रदेशसरह बनाउन वन क्षेत्रको व्यवस्थापन र उपयोगमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिन मुख्यमन्त्री कँडेलले आग्रह गरे । साथै उनले सामुदायिक वन उपभोक्ताहरूको हकहित सुरक्षित गर्न सरकार गम्भीर रहेको बताए ।