२०८३ वैशाख ७ , सोमबार

लागुऔषध दुर्व्यसनी न्यूनीकरणमा सरोकारवाहरुकाे प्रतिबद्धता



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बढ्दै गएको लागुऔषध दुर्व्यसनी न्यूनीकरणमा सरोकारवाहरुले साझा प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा शुक्रवार रिकभरी नेपाल कर्णाली प्रदेशको आयोजनामा लागुऔषध दुर्व्यसन सम्बन्धी चेतनामूलक कार्यक्रमका सहभागीहरूले लागुऔषधको जालो तोड्न सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका हुन् ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले लागुऔषध न्यूनीकरणको सवाललाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण विशेष गरी युवाहरू लागुऔषध दुर्व्यसनीमा फस्दै गएकाप्रति सचेत रहनुपर्ने उनको भनाई थियो । यस्तै, कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनालले प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा लागुऔषध मुख्य चुनौती बन्दै गएको बताए ।

लागुऔषध दुर्व्यसनी न्यूनीकरण सरकारको एकल प्रयासले मात्रै न्यूनीकरण सम्भव नभएको उनले बताए । यसको जोखिममा विद्यालय जाने उमेर समूहका बालबालिका तथा युवाहरू पर्दै गएकाप्रति उनले चिन्ता व्यक्त गरे । लागुऔषध दुर्व्यसनी न्यूनीकरणको सवालमा नगरपालिका गम्भीर रहेको बताउँदै उनले आगामी नीति तथा कार्यक्रम र बजेटमा यो विषयलाई प्राथमिकताका साथ उठान गर्ने प्रतिबद्धता समेत जनाए ।

लागुऔषध न्यूनीकरणमा परिवार, समाज, विद्यालय, प्रहरी तथा स्थानीय सरकारको साझा प्रतिबद्धता आवश्यक रहेको उनको भनाई थियो । यस्तै, पत्रकार महासङ्घ शाखा सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले लागुऔषध दुर्व्यसनी न्यूनीकरणलाई तीनै तहका सरकारले प्राथमिकताका साथ लिनुपर्ने बताए । समाजमा लागुऔषधको जालो तीव्र रूपले फैलिएको अवस्थामा राज्यले यसतर्फ ध्यान पु¥याउन नसकेको उनको भनाई थियो ।

यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक शिव श्रेष्ठले कानुनले दण्डित गरे पनि यसको सेवनसँगै ओसारपसार र बिक्री वितरणमा वृद्धि हुनुले चुनौती थपिएको बताए । लागुऔषध दुर्व्यसनीको जालोमा १८ देखि ४५ वर्ष उमेर समूह फस्दै गएको उनले बताए । लागुऔषध आफैमा अपराध भएको उल्लेख गर्दै यसले अन्य अपराधलाई समेत निम्त्याउने उनको भनाई छ ।

श्रेष्ठले परिवार, समाज तथा विद्यालयस्तरमा जनचेतना फैलाउन ढिलाइ हुँदा लागुऔषधको जालो भित्रभित्रै भुसको आगोझैँ फैलिँदै गएको उल्लेख गर्दै प्रहरीले मात्रै यसको न्यूनीकरण गर्न नसक्ने बताए । प्रहरीले लागुऔषध दुर्व्यसनी न्यूनीकरण गर्न लालटिन अभियान, लागुऔषध नियन्त्रण घरदैलो कार्यक्रम, पर्चा पम्प लेट वितरण, पुनर्स्थापना केन्द्रको नियमित अनुगमन तथा सचेतना, सवारी चालकको लापसे चेकिङ, हटस्पट केन्द्रित सचेतनामूलक कार्यक्रम, गाँजा तथा अफिम फडानीलगायतका कामहरू गर्दै आएको उनले बताए ।

कर्णाली प्रदेश राजधानीको मुकामसमेत रहेको वीरेन्द्रनगरमा लागुऔषध प्रयोगकर्ता, ओसारपसार तथा बिक्री वितरण तीव्र रूपमा वृद्धि भइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्याङ्कमा पछिल्ला वर्षहरूमा वीरेन्द्रनगर लागुऔषधको हटस्पट बन्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरमा तीन आर्थिक वर्षको अवधिमा लागुऔषधसम्बन्धी २ सय ३५ मुद्दा दर्ता भएका छन् ।

यी मुद्दामा ३ सय ६९ लाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीको तथ्याङ्क छ । लागुऔषध कारोबारी तथा सेवनकर्तामा मुद्दा चलाइएका अधिकांश १८ देखि ४५ वर्ष उमेर समूहको सक्रिय जनसङ्ख्या बढी छन् । पक्राउ परेकाहरू ब्राउन सुगर प्रयोगकर्ता बढी छन् भने, महिला तथा बालबालिका पनि बढ्दै गएका छन् । प्रहरी अनुसन्धान अनुसार लागुऔषध भारतको रूपैडिया र बर्दियाको सीमामा पर्ने बलरामपुरबाट सुर्खेत भित्रिने गरेको छ । लागुऔषध सुर्खेत ल्याउन सजिलो र बढी पैसा पाउने लोभले युवाहरू जोखिममा पर्दै गएको प्रहरीको निष्कर्ष छ ।

प्रकाशित मिति : २०८२ जेठ १६ गते शुक्रबार