२०८३ वैशाख ७ , सोमबार

कर्णालीका यातायात व्यवसायीले गरे भोलिदेखि सार्वजनिक यातायात चल्ने नदिने घोषणा



सुर्खेत । गण्डकी प्रदेश सरकारले जारी गरेको यातायात सम्बन्धीको कानुन खारेजीको माग गर्दै यातायात व्यवसायीहरूले भोलि (सोमबार) देखि देशभर सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन् । सरकारले निजी सवारीसाधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै यातायात व्यवसायीहरूले सार्वजनिक यातायात चल्न नदिने घोषणा गरेका हुन् ।

कर्णाली प्रदेश सङ्घर्ष समितिले आज (आइतबार) वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत कर्णालीमा पनि कालो र रातो प्लेटका कुनै पनि सवारी चल्न नदिने यातायात व्यवसायीको घोषणा गरेको हो । गण्डकी प्रदेश सरकारले गत जेठ १ गते ‘निजी सवारी साधन (रातो प्लेट) सञ्चालन गर्नेसम्बन्धी नियमावली २०८२’ जारी गरेपछि त्यसको विरोधमा सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा छन् ।

उक्त नियमावली संविधान विपरीत भएको भन्दै तत्काल खारेज गर्नुपर्ने मागसहित आफूहरू बाध्य भएर आन्दोलनमा होमिएको सङ्घर्ष समिति कर्णालीका संयोजक रमेश कुमार सापकोटाले जानकारी दिए । संयोजक सापकोटाले संविधानको मर्म र सवारी ऐन २०४९ का प्रावधानलाई बेवास्ता गरी प्रदेशहरूले ऐन र नियमावली लागू गर्दा सार्वजनिक यातायात व्यवसाय नै सङ्कटमा परेको जिकिर गरे ।

यस्तै यातायात व्यवसायीहरूले सर्वोच्च अदालतले २०८० चैत २० गते दिएको सङ्घ–संस्थाहरूको नवीकरण र सम्पत्ति फुकुवा सम्बन्धी परमादेश तत्काल कार्यान्वयन गर्न पनि माग गरेको र नेपाल सरकार र विभिन्न संघसंगठनहरूबीच भएका विगतका सहमति र कार्यदलका सुझावहरू तत्काल लागू गर्नुपर्ने उनले बताए ।

सङ्घर्ष समितिले सवारी साधनको भार वहन क्षमतासम्बन्धी निर्देशिका २०७४ को प्रभावकारी कार्यान्वयन, सामाजिक सुरक्षा कोषको अनिवार्य लागू, दुर्घटना राहत कोषको स्थापना, ढुवानी ऐनको प्रभावकारी कार्यान्वयन, र छिमेकी मुलुकबाट भित्रिने सवारी साधनले भन्सार नाकामा पाउने असमान ७२ घन्टे सुविधा खारेज गर्न सरकारसँग आग्रह गरेको छ। आन्दोलनको सुरुवात स्वरूप जेठ १३ गते देशभरका सरोकार मन्त्रालयहरूमा समितिले ज्ञापन पत्र बुझाइएको छ ।

समितिले जेठ १४ गते सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई माग पत्र बुझाउँदै जेठ १८ गतेसम्म माग सम्बोधन गर्नुपर्ने अल्टिमेटम दिएको थियो । सरकारले उक्त समितिको मागलाई बेवास्ता गरेको भन्दै जेठ १९ अर्थात् भोलिदेखि देशभरका सार्वजनिक सवारी साधन अनिश्चितकालका बन्द गर्ने सङ्घर्ष समितिले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेठ १८ गते आइतबार