२०८३ वैशाख ७ , सोमबार

आयस्तरमा सुधार ल्याउन शिवालयमा चिया खेतीको विस्तार



सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकाले आयस्तरमा सुधार गर्ने लक्ष्यले चिया खेतीको विस्तार थालेको छ । पर्यटकीय प्रचुर सम्भावना बोकेका शिवालय गाउँपालिका वडा नम्बर २, ४ र ५ का लेकाली भेगमा चिया खेतीको सम्भावना देखेपछि आयस्तरमा जोड्न पालिकाले चिया खेती विस्तार गरेको हो ।

खाली खुलाखर्क क्षेत्रहरूको जमिन सदुपयोग गर्दै पर्यटकीय प्रवर्द्धन गर्न गाउँपालिका अन्तर्गत कृषि विकास शाखाले माटो परीक्षण गरी यी तीन वडामा दुई वर्ष अगाडि इलामबाट चियाका बिरुवा ल्याएर वितरण गरेको थियो । यससँगै शिवालय गाउँपालिकाले कर्णाली प्रदेशका १० वटा जिल्लामध्ये चिया खेती सुरु गर्ने पहिलो स्थानीय तह भएको पालिकाको जनाएको छ ।

गाउँपालिकाका कृषि विकास शाखाका प्राविधिक विश्वामित्र शर्माका अनुसार त्यस क्षेत्रका ३५ घरपरिवारले करिब २५ रोपनीभन्दा बढी सार्वजनिक जमिनमा सामूहिक चिया खेती गरेका छन् । उक्त क्षेत्रहरूमा प्रशस्त खाली जमिनसँगै पर्यटनको राम्रो सम्भावना रहेकाले गाउँपालिकाले दीर्घकालीन योजनाका साथ चिया खेती विस्तारमा जोड दिएको पालिका अध्यक्ष शेरबहादुर शाहीले बताए ।

‘गाउँपालिकाले २ वर्षअघिदेखि नै सम्भावित खाली क्षेत्रहरूमा योजनाबद्ध रूपमा चिया खेती विस्तार गरिरहेको छ,’ अध्यक्ष शाहीले भने, ‘यहाँका खाली जमिनको सदुपयोग गर्दै आयस्तरमा सुधारसँगै पर्यटनको विकास गर्ने लक्ष्यले काम गरिरहेका छौँ । हालसम्म करिब २५ रोपनी खाली खर्क क्षेत्रमा चिया खेती विस्तार भइसकेको अवस्था छ ।’

उच्च भेगहरूमा धेरै खाली चउर, खर्क क्षेत्रहरू रहेकाले यहाँ चिया खेतीका लागि राम्रो सम्भावना रहेको उनको दाबी छ । गाउँपालिकासँगै स्थानीयलाई पनि आफ्ना निजी खाली जमिनमा चिया खेती विस्तारमा प्रोत्साहन गर्न कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए । ‘सुरुमा त खासै केही थाहा थिएन । अहिले बोटहरू राम्रो भएका छन् ।,’ शिवालय–२ का खलु शाहीले भने, ‘बोटहरू राम्रो भएपछि यहाँ राम्रो सम्भावना देखिएको छ ।,’

उनले पालिकाले निःशुल्क चियाका बोट दिएर आफूहरूलाई आयस्तरमा सुधार गर्ने लक्ष्य लिएको बताए । चिया खेतीको दृष्टिकोणले गाउँपालिकाका उच्च भेगहरू उत्तम भएकाले आफूहरूले यहाँ चिया खेतीको विस्तार गर्ने योजना लिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले बताए । ‘यहाँको हावापानी र भौगोलिक रूपमा चिया खेतीका लागि प्रशस्त सम्भावना हामीले देखेका छौ,’ अधिकृत शाहीले भने, ‘चियालाई पर्यटन र आयस्रोतको रूपमा स्थापित गराउन गाउँपालिकाले चिया खेती विस्तारमा जोड दिएको छ ।

यहाँका खाली निजी जमिनमा पनि खेती विस्तारमा उत्प्रेरित गराउन प्रोत्साहनका कार्यक्रमहरू पनि गाउँपालिकाले सञ्चालन गरेको छ।’ उनले अझै थप बिरुवा मागको लागि स्थानीयहरूबाट पालिकामा निवेदन पेस गर्न आग्रह गरेको बताए । स्थानीयको जनसहभागितामा सामूहिक रूपमै व्यवस्थित र प्रणालीगत रूपमा अघि बढाउन शिवालय चिया उत्पादन कृषक समूह गठन गरिएको छ ।

दीर्घकालीन सोचका साथ चिया खेती विस्तार तथा उत्पादित चियाको बजारीकरणसँगै थप व्यवस्थापन गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।चिया नर्सरीमा आउँदो सिजनमा रोप्नका लागि करिब पाँच लाख बिरुवा उत्पादन भइरहेको प्रशासकीय अधिकृत राईले जानकारी दिए । चियासँगै कफी खेती विस्तारको लागि समेत काम भइरहेको उनले बताए । कफीको नर्सरी स्थापना गरेर विस्तारको काम भइरहेको उनले बताए ।

चियाका बोट उम्रिएपछि सर्वसाधारण व्यक्तिगत रूपमा चिया खेती गर्न इच्छुक भएको उनको भनाइ छ । शिवालय गाउँपालिका–२, लयकाँडाकी कस्तुरा सिंह ठकुरीले चियाका बिरुवा ल्याएर लगाउँदा राम्रो हुन थालेपछि आकर्षण बढेको बताइन् । शाखाले दिएको चिया खेती प्रवर्धनसम्बन्धी तालिमपछि धेरै सिक्ने अवसर मिलेको उनको भनाइ छ ।

यस्तै शिवालय–५ का पूर्णबहादुर खत्रीले तालिममा आफूहरूले चियाको खेतीको सुरुवात, चिया खेतीबाट फाइदा, चिया खेतीमा ध्यान दिनुपर्ने लगायतका कुरा सिकेको बताए । उनले पालिकाले अझै आगामी दिनमा पनि यस्तै तालिमहरू आयोजना गरी कृषकका समस्याहरू समाधान गर्न आग्रह गरे ।

 

प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार