
भेरीगंगा । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखी ३४ किलोमिटर टाढा रहेको भेरीगंगा–११ रामघाटमा अवस्थित शिखर माध्यमिक विद्यालयले आफ्नो नाम जस्तै शिखर चुम्ने मार्गमा अघि बढेको छ । २०२८ सालमा स्थापना भएको यो विद्यालय अहिले शैक्षिक उत्कृष्टताको एक गतिशील केन्द्रका रूपमा परिचित बन्दै गएको छ । यसको श्रेय विद्यालयका कर्मठ प्रधानाध्यापक जनक बहादुर सिंहलाई जान्छ । जसले आफ्नो निष्ठा, परिश्रम र दूरदृष्टिले विद्यालयलाई मौलिक र आत्मनिर्भर शिक्षालय बनारहेका छन् ।
शैक्षिक केन्द्र बिन्दूको रुपमा रहेको एक गर्भिलो इतिहास बोकेको माध्यमिक तहसम्म संचालनमा रहि आएको यो विद्यालयले साधारणतर्फ शिक्षा र व्यवस्थापन गरि कक्षा १ देखि १२ सम्म, दृष्टिबिहिन आवासीय स्रोतकक्षा, कृषि तीनवर्षे बाली विज्ञान कक्षाहरु सञ्चालन गर्दै आएको छ । जन्मथलो जाजरकोटको कुशे गाउँपालिका भए पनि प्रअ सिंहको कर्मथलो रामघाट बनिरहेको छ । प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्यालयमै व्यस्त रहने उनी कहिलेकाहीँ रातिसम्म पनि कार्यालयमै काममा तल्लीन रहन्छन् ।
शान्त स्वभाव, सधैं मुस्कानसहितको व्यवहार र नेतृत्व क्षमताका कारण उनी सबैको प्रिय बनेका छन् । विद्यालयले उनी जस्तो प्रधानाध्यापक पाउनु भाग्यको कुरा भएको र शब्दमै बयान गर्न नसकिने विद्यायलयकै एक शिक्षक बताउँछन् । सहायक प्रधानाध्यापक मदन बहादुर पुनले पनि कार्यशैलीमा पारदर्शिता र सहमति हुनुले आफुलाई साँच्चिकै एक जिम्मेवार प्रधानाध्यापकसँग काम गरिरहेको अनुभूति भएको बताए ।
आधुनिक कृषि र वातावरणीय कार्यक्रम
प्रअ सिंहको नेतृत्वमा विद्यालयले आत्मनिर्भरता र वातावरणमैत्री कार्यक्रमलाई प्राथमिकतामा राख्दै ३ रोपनीमा केरा खेती, ४ रोपनीमा ड्रागन फ्रुट खेती, च्याउ र तरकारीका टनेलहरू सञ्चालनमा ल्याएको छ । विद्यार्थीको युरिनबाट जैविक मल उत्पादन गर्ने अभिनव प्रयोगले विद्यालयलाई नेपालकै नमुना संस्थाका रूपमा अगाडि ल्याएको हो ।
माछापोखरी र मौरी पालनले अहिले स्थानीय उत्पादनमा समेत प्रभाव पार्न थालेको प्रअ सिंहले बताए । उनले सहायक प्रअ पुन र कृषि फील्ड कोर्डिनेटर समिर खत्रीको सहयोगलाई पनि सफलताको मेरुदण्ड मानेका छन् । साथै, विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी र सरोकारवालाको साथलाई आफुले सदैव उच्च सम्मानका साथ लिने गरेका बताए । हेल्भेटास नेपाल ईनइलम परियोजनाका कर्णाली संयोजक टेक बहादुर सिंहप्रति आफु आजीवन ऋणी भएको बताउँछन् ।
अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग
यस प्रेरणादायी प्रगतिलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ नियालिरहेको छ । हालै दक्षिण कोरियाको अम होंग गिल ह्युमन फाउन्डेशनुका ३४ जना प्रतिनिधि प्रअ सिंहकै नेतृत्वमा विद्यालयमा ३ दिन बसेर १८ कोठे नयाँ भवनको शिलान्यास गरी फर्किएका छन् । फाउण्डेशनको क्याप्टेन रहेका गिलले १७ वर्षदेखि नेपालका दुर्गम क्षेत्रका सामुदायिक विद्यालयको जीर्ण संरचनाको पुनःनिर्माण तथा शिक्षाको गुणस्तर अभिवृद्धि र स्वास्थ्य सेवा क्षेत्रमा आफूलाई सक्रिय रुपमा उभ्याउँदै आएका छन् ।
सफा, सुरक्षित, भूकम्प प्रतिरोधी, सुविधा सम्पन्न र बालमैत्री विद्यालय भवन निर्माण, आधुनिक पुस्तकालय तथा प्रयोगशाला, खानेपानी तथा आधुनिक शौचालय निर्माणमा गरिने गिलले बताएका छन् । विद्यालय दुई वर्षमा सक्ने लक्ष्य रहेको फाउण्डेशनले जनाएको छ । विगतमा पूर्वाधार पुनः निर्माणमा केन्द्रित भएको फाउण्डेशनले अब नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा भूमिका खेल्ने जनाएको छ । विद्यालयमा रोजगारीमूलक शिक्षा, जैविक कृषि, वातावरण संरक्षण र अन्तर्राष्ट्रिय सहयोग जस्ता पक्षहरूको समन्वय गर्दै शिखर माध्यमिक विद्यालयले आफ्नो नाम अनुरूपको उचाइ हासिल गर्दै गएको छ ।