
कृत्रिम घटना अभ्यासमा घाइतेको उद्धार गर्दै सुरक्षाकर्मी टोली । तस्बिर : कुलेन्द्र शाही
जाजरकोट । सम्भावित मौसमजन्य विपद्बाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाको शिवालय गाउँपालिकामा कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको छ । गाउँपालिकाको जलवायु अनुकूलन योजना अनुरूप स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयअनुसार शिवालय गाउँपालिका वडा नं. १ मोर्कबजार, वडा नं. ३ ऐरेली बजार र वडा नं. ९ नाहाडामा कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो ।
कार्यक्रम सहयोगी हातहरूको समूह (सहास) नेपाल पाइला परियोजनाको आयोजना र गाउँपालिकाको समन्वय तथा सहजीकरणमा गरिएको थियो । अभ्यासमा भूकम्प, बाढी, आगलागी र एलपी ग्यास विस्फोटजस्ता सम्भावित घटनाहरूमा कसरी प्रतिकार्य गर्ने भन्ने विषयमा नमुना देखाइएको सहास नेपाल शिवालयका प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए ।
उनकाअनुसार उद्धार प्रक्रिया, सुरक्षित बस्ने उपाय, सम्बन्धित निकायलाई जानकारी दिने र प्रारम्भिक सहायता कसरी पु¥याउने भन्ने विषयमा पनि नमुना प्रदर्शन गरिएको थियो । कार्यक्रममा खोज तथा उद्धार तालिम प्राप्त स्वयंसेवक टिम, गाउँपालिकाका प्राविधिक टिम, विपद् व्यवस्थापन शाखा, इलाका प्रहरी कार्यालय सिमा र छेडाचौर प्रहरी चौकीका टोलीले संयुक्त रूपमा अभ्यास प्रदर्शन गरेका थिए ।
सहास नेपालद्वारा सञ्चालित “पाइला परियोजना“ अन्तर्गत समुदायमा पारिवारिक विपद् सुरक्षा योजना, झटपट झोलाको तयारी, सुरक्षित स्थानको छनोट लगायतका विषयमा नियमित रूपमा कार्य भइरहेको प्रमुख अधिकारीले बताए । उनकाअनुसार गत पुस १० गते विपद्को जोखिममा रहेका शिवालय–६स्थित टुनिबगर र लोतपाखामा पनि नमुना अभ्यास गरिएको थियो ।
कार्यक्रममा शिवालय गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष दीपक खड्काले यस्ता अभ्यासहरूले समुदायमा चेतना अभिवृद्धि गर्नुका साथै जनधनको सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने बताए । उनले विपद् जोखिम न्यूनीकरणका लागि सबैको सहयोग महत्त्वपूर्ण रहने बताए । यस्तै इलाका प्रहरी कार्यालय सिमाका प्रमुख मोहनलाल अधिकारीले विपद् पूर्व तयारी लाग्न सबैलाई आग्रह गरे । उनले मनसुन पूर्वको खोज उद्धार हुनसक्ने जोखिम कम गर्न विपद् प्रतिकार्य अभ्यास प्रभावकारी हुने बताए ।
तस्बिरहरू हेर्नुहाेस्

