२०८३ वैशाख ७ , सोमबार

जाजरकोटमा अब महिनामा दुईदिन बजार बन्द हुने



बजार बन्दको निर्णयपछि सुनसान खलङ्गा बजार

जाजरकोट। जाजरकोट उद्योग वाणिज्य संघले प्रत्येक महिनाको दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ । संघको १८औं वार्षिक साधारण सभाको निर्णयअनुसार अबदेखि प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार सदरमुकाम खलङ्गा बजार बन्द गरिने भएको हो । संघका अध्यक्ष रमेश केसीका अनुसार पहिलो चरणमा भेरी नगरपालिकाभित्रका बजारका पसलहरू बन्द गरिनेछ । सो निर्णय आजदेखि लागु गरिएको छ ।

उनले व्यवसायीहरूकै मागअनुसार यस्तो निर्णय गरेको बताए । ‘हामीले भन्दा पनि व्यवसायीहरुले हामीलाई दुईदिन फुर्सद चाहियो बजार बन्द गर्ने निर्णय गरिदिनु प¥यो भनेर आउनुभयो’ उनले खबरदृष्टिसँग भने, ‘हामीले उहाँहरुकै माग बमोजिम पसलमा गएर २ सय ६ व्यवसायीको हस्ताक्षर गरेर बजार बन्द गर्ने निर्णय गरेका हौ,’बन्दको समयमा होटल र मेडिकल भने सञ्चालन गर्न पाइनेछ भने तरकारी पसलहरू बिहान ८ बजेसम्म र बेलुका ५ बजेपछि मात्रै खोल्न पाइने व्यवस्था गरिएको अध्यक्ष केसीले बताए ।

तोकिएका पसल बाहेक नियम विपरीत अन्य पसल खोलेमा पहिलो पटक ५ सय रुपैयाँ, दोस्रो पटक १ हजार र तेस्रो पटक १ हजार ५ सय रुपैयाँ जरिवाना गरिने अध्यक्ष केसीले जानकारी दिए । त्यस्तो उल्लङ्घन दोहोरिएमा जरिवाना क्रमशः बढाइने उनको चेतावानी छ । आजैदेखि निर्णय लागू भएसँगै खलङ्गा बजारका सबै पसल बिहानैदेखि बन्द गरिएका छन् भने बजार क्षेत्र सामान्यतया सुनसान देखिएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार