२०८३ वैशाख ७ , सोमबार

सुर्खेतकाे कोपिला भ्याली विश्वकै १० उत्कृष्ट विद्यालयको सुचीमा



सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको कोपिला भ्याली विद्यालय विश्वमै उत्कृष्ट विद्यालयका रुपमा छनोट भएको छ । विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५ अन्तर्गत वातावरणीय कार्य श्रेणीमा कोपिला भ्याली शीर्ष १० मा स्थानमा पर्न सफल भएको हो ।

विश्वव्यापी रूपमा शिक्षा क्षेत्रमा दिगो, नवप्रवर्तनशील र समाजमा सकारात्मक प्रभाव पार्ने विद्यालयहरूलाई सम्मान गर्न सन् २०२२ देखि सुरु गरिएको यस पुरस्कारमा नेपालबाट पहिलोपटक सो विद्यालय छनोट भएको कोपिला भ्याली सेवा समाजका प्रवन्धक निर्देशक टोेपबहादुर मल्लले जानकारी दिए । विद्यालयमा ४५० विपन्न बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाका साथै वातावरणीय शिक्षा प्रदान गर्दै आएको उनको भनाइ छ ।

उनले ‘ग्रीन स्कूल’ अवधारणामार्फत वातावरणीय दिगोपनालाई संरक्षणलाई शिक्षाको अभिन्न अङ्ग बनाउने विद्यालयको प्रयासलाई विश्व समुदायले उच्च मूल्यांकन गरेको दाबी गरे । पुरस्कार वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता, र स्वस्थ जीवनशैली लगायत पाँच विधामा प्रदान गरिने बताइएको छ ।

विज्ञ निर्णायक मण्डलद्वारा विजेताहरू छनोट गरिनेछन् । बुधवार बिहान ११ बजेदेखि अनलाइन भोटिङ पनि खुल्ला गरिएको टछ । निर्देशक मल्लले विश्वभरका मानिसहरूले आफ्नो मनपर्ने विद्यालयलाई समर्थन गर्न सक्ने बताए । विजेता विद्यालयहरूको घोषणा भने सन् २०२५ अक्टोबरमा गरिने जनाइएको छ ।

 

प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार