
सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेबिहार लगायतका क्षेत्रमा भइरहेका विकास निर्माणका कामहरुकाे अनुगमन गरेकाे छ । मंगलबार भएको अनुगमनमा काँक्रेविहारकाे मुख्य मन्दिर क्षेत्रकाे कम्पाउण्ड बाहिरकाे ४ सय ५१ मिटर काँक्रेविहार पैदल मार्ग निर्माणकाे अन्तिम चरणमा पुगेकाे जानकारी दिईयाे।
याे आयाेजना लागि कर्णाली प्रदेश सरकारले ८० लाख बजेट विनियोजन गरेपनि ४८ लाखमा ठेक्का स्वीकृत भइ श्रीकृष्ण निर्माण सेवा कम्पनी सुर्खेतले कामकाे जिम्मा लिएको थियाे। हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको र असारमसान्तसम्म सबै काम सक्ने निर्माण कम्पनीले बताएकाे छ। अपांगमैत्री बाटो बनेकाेले काँक्रेबिहार घुम्न जाने यात्रुहरुलाई सहज हुनेछ।
डिभिजन वन कार्यालयले सुर्खेत जिल्लामा १७ वटा पर्या-पर्यटनसम्वन्धी आयाेजनाहरु चालू रहेको जानकारी दिएको छ। १५ लाखदेखि ५ करोड सम्मका आयाेजनाहरु सम्पन्न भए सुर्खेतकाे पर्यटन विकासले गति लिने डिभिजन वन प्रमुख बसन्तबाबू श्रेष्ठले जानकारी दिए। अनुगमन टाेलीले वीरेन्द्रनगर ९ मा रहेको अधेरी गुफा निर्माण आयाेजनाकाे पनि अनुगमन गरेको छ।
गत फाल्गुन ११ सम्झौता भइ गत जेठ १७ गते निर्माण सम्पन्न भएको अधेरी गुफा संरक्षण परियोजनाले अधेरी गुफा पुरिनबाट राेकिने वन अधिकृत श्रेष्ठले जानकारी दिए। जंगलमा परेको पानी र माटो बगेर गुफामा जाने र यसले गुफाको मुख नै राेकिन सक्ने भएकोले राेकथाम गर्न लागिएको उनको भनाइ छ। पर्खाललगायतका कामहरु कालेब निर्माण सेवा कम्पनीले सम्पन्न गरेको छ।
१४ लाख १० हजार बजेट विनियोजन भएकोमा १० लाख ६१ हजारमा ठेक्का स्वीकृत भै सम्झौता भएको थियाे। याे परियोजनावाट १ सय ६३ मिटर तारजाली धेरवार, २४ र ५७ मिटर पर्खाल र चाैतारीसमेत निर्माण भएको निर्माण कम्पनीले जानकारी दियाे। यसैगरी, अनुगमन टाेलीले वीरेन्द्रनगर १३ काे जर्वुटामा रहेको जर्वुटा डाँडा शान्ति पार्कमा बनेको गेट र तारजाली कम्पाउण्डसमेतकाे अनुगमन गरेको छ।
१७ लाख २८ हजारमा निर्माण सम्पन्न भएको याे आयाेजनाले स्थानीय पर्यटकहरुलाई आकर्षित गर्ने वीरेन्द्रनगर वडा नं १३ का अध्यक्षले जानकारी दिए। सामुदायिक वन क्षेत्रमा बनेकाे पार्कमा खानेपानी, शाैचालय र टिकट घर बनाउने याेजनासमेत रहेको डिभिजन वन प्रमुख श्रेष्ठले जानकारी दिए।
अनुगमनमा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, उपप्रमुख सचिनकुमार बडुवाल, प्रदेश वन निर्देशनालय प्रदेश वन निर्देशक शेर बहादुर श्रेष्ठ, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कल्पना खत्री, वडा नं ९ का अध्यक्ष ऋषि गिरी सुर्खेत चेम्बरका अध्यक्ष चिन्तामणि शर्मा लगायतको उपस्थिति थियो ।