२०८३ वैशाख ७ , सोमबार

गुर्भाकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा



सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । नगरपालिकामा शुक्रवार एक कार्यक्रमको आयोजना गरी पालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ नगरपालिका खोप समन्वय समितिको आयोजनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर घर्तीले बताए ।

उनले पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि नगरपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको र सर्वेक्षणको क्रममा खोप लगाउन छुट भएका १७ जना बालबालिकालाई खोप लगाएर पालिका घोषणा गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै ‎नगर प्रमुख हस्त पुनले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका सकिएको र यसलाई निरन्तरता दिन सक्नु नै ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए । सो अवसरमा उनले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको उनको भनाइ छ । ‎‎उनकाअनुसार हालसम्म सुर्खेतका ‎‎नौ पालिकामध्ये चार वटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भइसकेका छन् । गुर्भाकोट नगरपालिका समग्र जिल्लामा चौथो र नगरपालिकामा गुर्भाकोट नगरपालिका दोस्रो पालिका हो । ‎

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार