२०८३ वैशाख ७ , सोमबार

दुई क्विन्टल अवैध जडिबुटी बोकेको गाडी प्रहरीको नियन्त्रणमा



सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित बसपार्कमा प्रहरीले एक गाडीबाट ठूलो परिमाणमा अवैध जडीबुटी बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रवार बिहान ११ बजेको समयमा भे. १ च. ३५९२ नम्बरको टाटा कम्पनीको गाडीलाई शंका लागि रोकेर चेकजाँच गर्दा झ्याउजस्तो देखिने अवैध जडीबुटी फेला परेको थियो ।

सो गाडीबाट बिना पूर्जी, बिल र बिजकको ३६ बोरा जडीबुटी फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए। उनले जडिबुटी संकलन, ढुवानी वा निकासी गर्दा अनिवार्य कागजातको आवश्यकता पर्ने भएकाले सो बिना ल्याइएको जडिबुटीलाई अवैध मानिएको हुँदा नियन्त्रणमा लिएको बताए ।

बरामद गरिएको जडीबुटीको तौल २ क्युन्टल ९१ केजी १०० ग्राम रहेको प्रहरीले जनाएको छ। नायब उपरीक्षक बुढथापाले  नियन्त्रणमा लिइएको जडिबुटी र गाडीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा बुझाइएको बताए।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार