२०८३ वैशाख ७ , सोमबार

कर्णालीका २९ हजार एक सय ३२ घरधुरी विपद्को चपेटामा



फाइल तस्बिर

सुर्खेत । मनसुन सक्रिय हुन नपाउँदै गत जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिका–६ बाढी र पहिरोको चपेटामा प¥यो । तिलगाउँस्थित तिल्चुङ खोलामा आएको सुक्खा बाढीले काठेपुल बगाएको र जमिन कटान भएको थियो । समुद्री सतहबाट करिब ३८ सय मिटरको उचाइमा रहेको तिलगाउँ अहिले पनि जोखिममा रहेको छ । उक्त घटनामा तिलगाउँका १८ घरका ३२ परिवार विस्थापित भएका थिए ।

जसलाई सशस्त्र प्रहरी बलले सुरक्षित स्थानमा सारेको थियो । बाढी गएको दुई सातापछि अध्ययनका लागि गएको विज्ञ टोलीले तीन वटा हिमताल फेला पारेका थिए । प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटर उचाइमा रहेको हिमतालको क्षेत्रसम्म पुगेर अध्ययन गरेको हो । त्यसअघि बैशाख ४ गते आएको अबिरल वर्षापछि हुम्लाको श्रीनगर बजारमा आएको बाढीले अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ बगाउँदा २६ वटा बाख्रा मरेका थिए भने ११ घर र एक पसलमा क्षति पुगेको थियो ।

मनसुन सुरु हुनु अगावै यसरी कर्णाली क्षति भएपछि यहाँ मनसुनपछि अझै बढी क्षति हुने आकलन गरिएको छ । शुक्रवारदेखि देशभर मनसुन फैलिएको छ । यसअघि जेठ १५ गते कोशी प्रदेशमा प्रवेश गरेको मनसुन, क्रमशः जेठ २९ गते मधेस, बागमती, गण्डकी र लुम्बिनीको पूर्वी भागमा फैलिएको थियो । मौसमविद् प्रतिमा मानन्धरका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा शुक्रवारदेखि मनसुन सक्रिय बनेको छ । उनले अब देशभर मनसुन प्रणालीले सक्रियता देखाउने बताइन् ।

१ लाख बढी नागरिक प्रभावित हुने
यसवर्षको मनसुनजन्य विपद्बाट कर्णाली प्रदेशका २९ हजार १ सय ३२ घरधुरी जोखिममा परेका छन् । यस्तै झण्डै १ लाख २७ हजार ३ सय ८ जना नागरिक प्रत्यक्ष प्रभावित हुने भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा विपद्को जोखिम झनै बढेको देखिएको हो ।

वर्षासँगै आउने बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोपका कारण भौगोलिक दृष्टिले कमजोर मानिने कर्णाली प्रदेश विगतका वर्षहरुमा समेत ठुलो क्षतिको चपेटामा पर्दै आएको छ । मन्त्रालयका अनुसार यसपालि झन् जोखिम उच्च रहेकोले समयमै पूर्वतयारी र प्रतिकार्य योजना निर्माणमा जोड दिइएको छ । मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन शाखाका प्रमुख विनोदकुमार बानियाँले अहिले प्रतिकार्य योजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘विपद् प्रतिकार्य योजना अन्तिम मस्यौदा तयार भइसकेको छ, अब प्रदेश विपद् व्यवस्थापन परिषद्बाट स्वीकृति भएपछि तुरुन्तै कार्यान्वयनमा जान्छ,’ उनले भने । यस्तै मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार हाल कर्णाली प्रदेशका ३२ हजारभन्दा बढी घरधुरी सम्भावित विपद्बाट प्रत्यक्ष प्रभावित हुने देखिएको छ । प्रभावित क्षेत्रका घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि प्रारम्भिक गृहकार्य भइरहेको गौतमले बताए ।

‘यस वर्षको मनसुन सुरु हुनु अघि नै कर्णाली सरकारले विभिन्न सुरक्षा निकायसँग समन्वय गरी आपतकालीन तयारीलाई तिव्र बनाउँदै लगेको छ,’ उनले भने । उनका अनुसार खाद्य सामग्रीबाहेक प्रदेश सरकारसँग अन्य केहीसामग्री तयारी अवस्थामा राखिएको छ ।

१ करोडको राहत सामग्री खरिद गर्ने तयारी
विपद् व्यवस्थापनका लागि आवश्यक राहत सामग्री जुटाउन कर्णाली सरकारले प्रारम्भिक रूपमा १ करोड रुपैयाँ बराबरको राहत सामग्री खरिद गर्ने तयारी गरिरहेको छ । प्रवक्ता गौतमले सरकारले १ करोडको राहत सामाग्री खरिद गर्ने तयारी गरीरहेको बताए । साथै सरकारसँग केही सामाग्री मौज्दात पनि रहेको छ । उनकाअनुसार हाल ५ लाख रुपैयाँ राहत कोषमा छ ।

कर्णाली प्रदेशको कमजोर भू–संरचना, विकट भौगोलिक अवस्था, दुर्गम बस्ती र अव्यवस्थित बासस्थानका कारण यहाँ बर्सेनि बाढीपहिरोका घटनाले जनधनमा ठूलो क्षति पु¥याउँदै आएको छ । सार्वजनिक सुरक्षा, जनधनको रक्षा र समयमै उद्धार सुनिश्चित गर्न प्रदेश सरकारले अबको केही दिनभित्रै योजना कार्यान्वयनमा लैजाने तयारी गरेको छ । मन्त्रालयले विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।

प्रकाशित मिति : २०८२ असार ७ गते शनिबार