
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेका छन्। कर्णालीको सुशासन, विकास, वातावरणीय सन्तुलन र पशु संरक्षणलगायतका मुद्दा उठाउँदै बोहराले जेठ ४ गते सुर्खेतबाट खाली खुट्टा यात्रा सुरु गरेका थिए। ३१ दिनको यात्रा पछि असार ३ गते काठमाडौं आइपुगेका उनी आजमात्रै प्रधानमन्त्रीसँग भेट गर्न सफल भएका हुन्।
बोहराले प्रधानमन्त्रीलाई आफ्नो अभियानको अनुभव, यात्रामा देखिएका सामाजिक समस्या, उपचार नपाएका बालबालिकाको अवस्थालगायत विषयमा जानकारी गराएका थिए। साथै, समस्याहरू समाधानका लागि आफैंले गरेका पहलहरूबारे समेत प्रधानमन्त्रीलाई अवगत गराएका छन्।
भेटका क्रममा प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलाई धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे । प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताए ।