सुर्खेत । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । विपद् जोखिम न्युनीकरणका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको उनको भनाइ छ ।
अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै आफूले सुरक्षा निकायहरूलाई विपद् न्युनीकरण र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उनले बताए । जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेको र विपद् भएको खण्डमा जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको जानकारी दिए ।
आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरू बनाई प्रदेश सरकारलाई जिम्मा लगाइएको उनले जानकारी दिए । गृहमन्त्री लेखकले काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर विपद् सुरक्षार्थ खटाइएको बताए । सरकारसँग सिमित श्रोत र साधन रहेको बताउँदै ठूलो विपद्को व्यवस्थापन गर्न सरकारले मात्रै गर्छ भनेर बस्न नहुने उनको भनाइ छ ।