२०८३ वैशाख ७ , सोमबार

लोकसेवाको परीक्षा दिएर घर पुग्न नपाउँदै अस्ताइन् जाजरकोटकी सिर्जना



सुर्खेत । देशको सेवा गर्ने सपना थियो जाजरकोटकी सिर्जना गिरीको । सानैेदेखि नायब सुब्बा बन्ने लक्ष्य बोकेकी सिर्जनाको लोकसेवा सपना मात्रै होइन जीवन पनि आइतबार अपराह्नदेखि सधैलाई समाप्त भयो । जाजरकोटको छेडागाड नगरपालिका–८ की २३ वर्षीया सिर्जनाले आइतबार अपराह्न ४ बजेको समयमा इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाइन् ।

लोक सेवा आयोग कोशी प्रदेशले सञ्चालन गरेको नायब सुब्बा ९नासु० पदको द्वितीय पत्रको परीक्षा दिएर उनी झापा हुँदै घर फर्कंदै थिइन् । तर उनी घर पुग्न नपाउँदै बाटोबाटै सधैलाई बिलाइन् । उनी मात्रै होइन उनीसँगै बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहराको पनि दुर्घटनामा परेर मुत्यु भयो ।

झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिर्जना र मदन गम्भीर घाइते भए । दुर्घटनापछि तत्काल दुवै जनालाई उद्धार गरी झापास्थित बीएन्डसी अस्पताल पुयाइएको थियो । तर, अस्पतालले दुवै जनालाई उपचारकै क्रममा मृत घोषणा गर्यो ।

दुर्घटनालगत्तै ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई इलाम प्रहरीले नियन्त्रणमा लिएको छ । इलाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ । सिर्जना निकै मेहनती र आशालाग्दो युवती भएको उनकै साथीहरु बताउँछन् ।

परीक्षा दिएर घर फर्किएकी सिर्जना घर पुग्न नपाउँदै बाटोबाटै सधैलाई हराइन् । उनको ज्यान जानुले उनको परिवारमात्र हैन, सिंगो समाजलाई नै स्तब्ध बनाएको छ । जाजरकोटका एमाले नेता निरज आचार्यका अनुसार सिर्जनाका आफन्तजनहरू इलाम पुगिसकेका छन् । उनीहरूले प्रहरीसमक्ष जाहेरी दिनेसमेत तयारी गरिरहेका छन् । मृतक दुवै जनाको शव बीएन्डसी अस्पतालमै राखिएको छ ।

घरमा छोरी फर्कने प्रतीक्षा गरिरहेका बाबुआमा छोरीको निधनको खबरले स्तब्ध हुँदै छोरीको शव बुझ्न इलाम पुगेका छन् । सिर्जनाको मृत्युले केवल उनको परिवार, मित्रवर्ग र जिल्लालाइ मात्रै होइन घटनाले सवारी सुरक्षाप्रतिको गम्भीर प्रश्न पनि उठाएको छ । सिर्जनालाई हार्दिक श्रदाञ्जली अर्पण गर्दै अध्ययनसँगै परीक्षा केन्द्रमा गरिएको संघर्ष र मेहनतलाई चिहानको शान्तिले सदैव सम्झिरहनेछन् ।

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार