
कुलेन्द्र शाही सुर्खेत । सुर्खेतका नौ वटै स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेट कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित रहेको दावी गरिएको छ । मंगलवार सार्वजनिक गरिएको बजेटमा सबैभन्दा बढी प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ल्याएको छ ।
वीरेन्द्रनगरले ल्यायो ४ अर्ब ३८ करोडको बजेट, कुन क्षेत्रमा कति विनियोजन ? (पुर्णपाठसहित)
जसमा वीरेन्द्रनगरले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा ७९ करोड ९ लाख १५ हजार रुपैयाँले बढी हो । नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । आगामी बजेटमध्ये चालूतर्फ १ अर्ब ५९ करोड ४२ लाख ३० हजार (३६.३७ प्रतिशत) र पूँजीगततर्फ २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार (६३.६३ प्रतिशत) विनियोजन गरिएको नगर उपप्रमुख निलकण्ठ खनालले बताए ।
नगर बस सञ्चालनका लागि २ करोड
वीरेन्द्रनगरमा आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नगरबस सञ्चालन हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरवासीको सहजताका लागि नगरबस सञ्चालन गर्ने भएको हो । वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका क्षेत्रभित्र सर्वसुलभ नगर यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरी यसै वर्षदेखि नगरबस सञ्चालन गरिने बताइन् ।
उनले बढ्दो सहरीकरणसँगै व्यवस्थित सार्वजनिक यातायातको अभाव झेलिरहेका नगरवासीलाई राहत दिन नगरपालिकाले यो महत्वपूर्ण योजना अघि सारेको दाबी गरिन् ।
नगरबस सञ्चालन तथा खरिदका लागि २ करोड बजेट विनियोजन गरिएको छ । नगर क्षेत्रभित्र सर्वसाधारणलाई सुलभ, भरपर्दो र व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले नगरबस सञ्चालनको तयारी थालिएको हो । नगरपालिकाले बस सञ्चालनको मोडालिटी, भाडादर र समय तालिका छिट्टै सार्वजनिक गर्ने बताएको छ ।
पार्क तथा क्रमागत आयोजनामा २२ करोड ३४ लाख
यस्तै चालू आबबाट सुरु भएका राजधानी केन्द्रित शहरी सौन्दर्यताका पूर्वाधार घण्टाघर पार्क लगाएत अन्य पार्क एवम् खुल्ला क्षेत्र सजावट तथा पार्किड स्थल निर्माणका आयोजनाका साथै विभिन्न वडामा संचालित नगर महत्वका आयोजनाहरुलाई क्रमागतमा राख्दै क्रमागत आयोजनातर्फ २२ करोड ३४ लाख बजेट विनियोजन गरिएको उपप्रमुख निलकण्ठ खनालले जानकारी दिए ।
उनले शहरी पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा, सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापनमा सहजता ल्याउन विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालनका लागि प्रत्येक वडामा कम्तिमा एक वटा ५० लाख भन्दा ठूला नगर गौरव पूर्वाधार आयोजना हुने गरी बजेट व्यवस्था मिलाएको बताए ।
यस्तै राजधानी केन्द्रित ट्राफिक लाईट, रोड मार्किङ, धर्म काँटा, चोक साधार, फुटपाथ ब्यवस्थापन, सि.सि. क्यामरा, हाई मास लाईट, आई.टि. जोन, जस्ता शहरी पूर्वाधार निर्माणका लागि १२ करोड, नगरपालिकामा नागरिकका तर्फवाट आएका मागलाई सम्बोधन गर्न पूर्वाधारतर्फ थप २९ करोड ७९ लाख बजेट व्यवस्था गरिएको उपप्रमुख खनालको भनाइ छ ।
अन्य पालिकाको बजेट
यस्तै यस्तै गुर्भाकोट नगरपालिकाले एक अर्व एक करोड ६७ लाख ९५ हजार बराबरको बजेट ल्याएको छ । जसमा पूँजीगततर्फ ३९ करोड १ लाख र चालुतर्फ ६१ करोड ८६ लाख ७२ हजार बजेट छ । यस्तै भेरीगंगा नगरपालिकाले ८० करोड २५ लाख २४ हजार बजेट ल्याउँदा पञ्चपुरी नगरपालिकाले ६९ करोड ११ लाख १५ हजार बराबरको बजेट ल्याएको छ ।
यसैगरी बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६३ करोड ७ लाख ४८ हजार ९ सय ९९ रुपैयाँ बजेट पेस गरेको छ । बराहताल गाउँपालिकालाई नेपाल सरकारबाट समानीकरण अनुदानतर्फ ११ करोड ५७ लाख, शसर्त अनुदान (चालु) तर्फ २४ करोड १७लाख शसर्त अनुदान पुँजीगततर्फ ८३ लाख र विशेष अनुदानतर्फ १ करोड ६५ लाख र समपुरक अनुदान ८७ लाख वित्तिय हस्तान्तरणमा कुल ३९ करोड ९ लाख बजेट प्राप्त भएको छ ।
त्यस्तै कर्णाली प्रदेश सरकारबाट गाउँपालिकाकालाई समानीकरण अनुदानतर्फ १ करोड ३७ लाख ३३ हजार, शसर्त अनुदान (चालु) तर्फ १६ लाख १८ हजार शसर्त अनुदान पुजिगततर्फ रु ३ करोड ७५ लाख र विशेष अनुदान तर्फ १ करोड १४ लाख गरी कुल ६ करोड ४२ लाख ५१ हजार बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ । राजश्व अनुदान बाँडफाँडतर्फ नेपाल सरकारबाट १४ करोड ४४ लाख ९६ हजार २९२ र कर्णाली प्रदेश सरकारबाट २५ लाख एक हजार ७ सय प्राप्त गरेको गाउँपालिकाको दाबी छ ।
सिम्ता गाउँपालिकाले ६१ करोड ७५ लखा १९ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपलिकाले बजेटका स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान वापतबाट प्राप्त हुने १० करोड ६१ लाख, राजश्व बाँडफाडको शिर्षकबाट १० करोड ८२ लाख ७२ हजार, शसर्त अनुदान (चालुतर्फ) २७ करोड ६४ लाख, सशर्त अनुदान (पुँजीगत ) बाट ३ करोड २८ लाख, विशेष अनुदान १ करोड, समपुरक अनुदान ७० लाख गरी संघीय सरकारबाट ५४ करोड ५ लाख ७२ हजार रहेको छ ।
यस्तै कर्णाली प्रदेश सरकारबाट विनियोजित समानीकरण अनुदान १ करोड ३३ लाख २२ हजार, सशर्त अनुदान (चालु ) २१ लाख ३६ हजार, सशर्त अनुदान ( पूँजीगत) २ करोड २० लाख, विशेष अनुदान तथा समपुरक अनुदान प्राप्त नभएको, राजश्व बाँडफाँड २१ लाख ७५ हजार गरी जम्मा ३ करोड ७४ लाख ५८ हजार रुपयाँ रहेको छ । गाउँपालिकाले आगामी आवमा आन्तरिक राजश्व १ करोड संकलन गर्ने लक्ष्य लिएको छ भने गत वर्षको बाँकी मौज्दात अनुमानित २ करोड ९४ लाख ८९ हजार गरी जम्मा ६१ करोड ७५ लाख १९ हजार रुपैयाको बजेट पेश गरेको गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले बताइन् ।
आर्थिक समृद्धि, सामाजिक न्याय, गरीबी निवारण, रोजगारी सृजना र उद्यमशीलताको विकास गरी समृद्ध सिम्ताः सुखी सिम्तालीको दीर्घकालीन सोच कार्यान्वयन गर्नेगरी आगामी वर्षको वजेट केन्द्रित रहेको उपाध्यक्ष शर्माले बताइन् । यस्तै लेकवेशी नगरपालिकाले ६१ करोड ५१ लाख २ हजार ६ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
यसैगरी चौकुने गाउँपालिकाले ५७ करोड ३० बराबरको बजेट ल्याएको छ । यस्तै सबैभन्दा पहिले बजेट सार्वजनिक गरेको चिङ्गाड गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि ४० करोड ८६ लाख ४६ हजार २ सय ७ रुपैँयाको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ ३१ करोड ८३ लाख ९ हजार र पुँजीगततर्फ ९ करोड ३ लाख ३७ हजार २ सय ७ रुपैयाँ रहेको छ । गाउँपालिकाले शिक्षा क्षेत्रमा मात्रै २ करोड २७ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
यस्तै गाउँपालिका भित्रका सडक स्तरोन्नती, नर्सरी स्थापना, व्यावसायिक कृषि, पशुपालन, उद्यमशिलताका विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । यस्तै ६० बर्ष माथिका एकल पुरुषलाई मासिक भत्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।