२०८३ वैशाख ७ , सोमबार

काँक्रेविहारमा ‘खोज, अनुसन्धान तथा पर्यटन महोत्सव’ हुँदै



सुर्खेत । सुर्खेतको प्रमुख धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य काँक्रेविहारमा ‘खोज, अनुसन्धान तथा पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ नम्बर वडाले काँक्रेविहारको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक पक्षको गहन अध्ययन, समीक्षा तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो । भोलि शुक्रबारदेखि महोत्सव सुरु हुने वीरेन्द्रनगर नगरपालिका–९ का वडाध्यक्ष ऋषि गिरीले जानकारी दिए ।

उनले ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय दृष्टिले अनुपम सम्पदाको रूपमा स्थापित काँक्रेविहार परिसरमा ‘काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव’ र ‘युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन’ हुने बताए । उनले भने, ‘महोत्सवको मूल उद्देश्य काँक्रेविहारको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र धार्मिकपक्षको गहन अध्ययन, समीक्षा तथा प्रचारप्रसार गर्नु हो। यस महोत्सव तथा सम्मेलनले काँक्रेविहारलाई शैक्षिक विमर्श, बौद्धिक अन्तक्र्रिया र सांस्कृतिक अभिव्यक्तिको साझा मञ्च बनाउने विश्वास हामीले लिएका छौँ ।’

उनकाअनुसार महोत्सव तथा सम्मेलनमा काँक्रेविहारसम्बन्धी महत्वपूर्ण कार्यपत्र प्रस्तुत गरिनेछ भने, विद्वत् टिप्पणी तथा खुला बहस पनि आयोजना गरिनेछ । यस महोत्सवले स्थानीय समुदायमा सांस्कृतिक स्वामित्वको भावना अभिवृद्धि गर्ने तथा कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत नयाँ दिशाहरू खोल्ने तथा महोत्सवमार्फत काँक्रेविहार सम्पदास्थलको संरक्षण, प्रवद्र्धन र दिगो विकासका सम्भावनाहरू पहिचान गर्न सहयोग पुग्ने विश्वास लिइएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष गिरीले बताए ।

यस्तै, वडा कार्यालयले महोत्सवमा काँक्रेविहारको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्वका विषयमा वक्तृत्वकला प्रतियोगिता (कक्षा ९–१२), सपनाको काँक्रेविहार शीर्षकमा चित्रकला प्रतियोगिता (कक्षा ६–८), स्थानीय कला संस्कृति झल्किने नृत्य प्रतियोगिता (कक्षा १–५) आयोजना गरिने जनाएको छ । काँक्रेविहार एक प्राचीन बौद्धविहार हो । यसको निर्माण करिब १२औँ शताब्दीमा भएको मानिन्छ । विभिन्न अभिलेखहरू तथा उत्खननबाट प्राप्त मूर्तिहरूले यस स्थानलाई लिच्छवि र मल्लकालीन युगसँग जोड्दछ ।

यहाँ बुद्ध, अवलोकितेश्वर, तारादेवी र अन्य बौद्ध देव–देवीहरूका मूर्तिहरू अवस्थित छन् । काँक्रेविहार सुर्खेत उपत्यकाको सांस्कृतिक पहिचान मात्र नभएर समग्र कर्णाली प्रदेशको गौरवशाली इतिहास, धार्मिक सहिष्णुता र कलात्मक सम्पन्नताको प्रतीकको रूपमा रहेको एक महत्त्वपूर्ण स्थल भएकाले यसको प्रचारप्रसारका लागि महोत्सवको अयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

साथै, महोत्सवमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महत्त्वपूर्ण व्यक्तित्वलाई सम्मानका साथै विद्यालयस्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनी, स्थानीय थारू, भोटे र अन्य आदिवासी समुदायहरूको सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार