
सुर्खेत । पशुपन्छी विकास निर्देशनालयले बराहताल गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित कार्यक्रमहरूको अनुगमन गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ तथा अघिल्ला वर्षमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्न अनुगमन गरिएको हो ।
पशुपन्छी विकास निर्देशनालयका पशु स्वास्थ्य अधिकृत मोहन गिरीको नेतृत्वमा गरिएको अनुगमनमा डिभिजन वन कार्यालय सुर्खेतका वन अधिकृत गंगा त्रिपाठी, कृषि विकास निर्देशनालय सुर्खेतका कृषि प्रसार अधिकृत पवन कुमार चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशु सेवा अधिकृत कलम बहादुर महतारा, मत्स्य सेवा अधिकृत प्रकाश पाठकलगायत सहभागी थिए ।
टोलीले बराहताल गाउँपालिकाको विभिन्न वडाहरूमा पुगेर त्यहाँ सञ्चालित कार्यक्रमको अवलोकन तथा मूल्याङ्कन गर्दा स्थानीयबासीहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए । उनीहरूले चालु आवमा कार्यान्वयन गरिएका पशुपालन, मत्स्यपालन र कृषिसम्बन्धी कार्यक्रमहरू सन्तोषजनक रहेको बताउँदै त्यसलाई आगामी वर्षमा थप विस्तार र निरन्तरताको माग गरेका छन् ।
अनुगमन टोलीले विशेष गरी बराहताल गाउँपालिका–४ मा रहेको प्राकृतिक ताल ‘बराहताल’ को स्थलगत अवलोकन गरेको थियो । सो तालमा गत वैशाख महिनामा पशुपन्छी विकास निर्देशनालयले करिब ६० हजार माछाका भुरा छोडेको थियो ।
उक्त योजनाको प्रगति बुझ्न टोलीले तालमा पुगेर माछाको अवस्था, स्थानीय सहभागिता र तालको समग्र वातावरणको अध्ययन गरेको छ । अनुगमनका क्रममा तालमा माछा छाडिएपछि पर्यटकको चाप बढेको अधिकृत गिरीले बताए ।
‘माछा पालनले सौन्दर्य र पर्यटन दुवैमा टेवा पुगेको छ,’ गिरीले भने, ‘अब भदौ/असोज महिनामा ५ प्रजातिका झण्डै १ लाख माछा भुरा थप रूपमा छाड्ने योजना छ ।’ उनले यसअघि तालमा छाडिएका माछाहरू राम्रोसँग हुर्किंदै गएको र तिनको संरक्षणमा स्थानीयको जिम्मेवारी अझ बढेको उल्लेख गरे ।