
सुर्खेत ११ असोज
कर्णाली प्रदेश सरकारले कृषकलाई सहुलियतमा ऋण उपलब्ध गराउनेगरी कार्यक्रम बनाएपनि अहिलेसम्म प्रदेशका सबै जिल्लामा उक्त कार्यक्रम पुग्न सकेको छैन ।
कर्णाली सरकारले भदौ एक देखि उक्त कार्यक्रम सार्वजनिक गरेपनि प्रदेशका सबै जिल्लामा पुग्न नसकेको हो ।
केही कार्यक्रम सार्वजनिक गरेको भएपनि अझै केही कार्यक्रमहरु संशोधनको प्रक्रियामा रहेकाले कार्यक्रम लन्च हुन समय लागेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना अनुगमन तथा तथ्याङ्क शाखाका अधिकृत रामभक्त अधिकारीले बताए ।
कार्यक्रम कार्यान्वयनको शुरुवात भएकाले अब तत्काल काम अगाडि बढ्ने भन्दै उनले कृषकले ऋण लिदा झन्झटिलो नहुनेगरी कार्यविधि तयार भइरहेको बताए ।
उनका अनुसार सबै कृषकहरुले थाह नपाउने भएकाले नेपाल राष्ट्र बैंक मार्फत मातहतका बैंकलाई परिपत्र गर्न लगाइएको छ ।
कार्यविधी अनुसार लक्षित कृषक ऋणीलाई ब्याज अनुदान प्राप्त हुने गरी बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने गरी व्यवस्था गरिने उनले बताए ।
कर्णाली प्रदेशभित्र कृषि र पशुपन्छीपालन व्यवसाय गर्ने कृषकहरुले मात्र यो सुुविधा पाउने छन् ।
सरकारको कार्यक्रमबाट साना किसान अर्थात् अति विपन्न लक्षित वर्गका किसानलाई विशेष अनुदान दिने र प्रोत्साहन अनुदान दिने गरीे काम अगाडि बढाइएको छ ।