
सुर्खेत । भूमि सम्वन्धी डेलिगेशन मैनतडाबाट आएको टोलीले भेरीगंगा नगरपालिकाका नगरप्रमुख मेयर यज्ञ प्रसाद ढकालसँग भेट गरेको छ। संघीय सरकारले गरेको भू–उपयोग नीतिमा सबै जमिनलाई एउटै डालोमा हालेर १० बर्षसम्म जग्गा बेचविखन गर्न नपाउने आयोगको निर्णयको विरोध गरिएको छ।
अघिल्लो आयोगले फिल्ड बुक कायम भएको श्रेस्ता कायम हुन बाँकी जग्गा किनबेच गर्न मिल्ने बनाएको तर अहिले बनेको भूमि सम्वन्धी समस्या समाधान आयोगले दिएको पूर्जा किन बेचविखन र बैंकिङ् कारोवारो गर्न किन नमिल्ने प्रश्न गर्दै यसलाई सच्याउन पहल गरिदिन टोलीले अनुरोध गरेको छ। अनुसूची २ बाट प्राप्त लालपूर्जा बेचविखन गर्न दिनुपर्ने उनीहरूको माग छ।
डेलिगेशनमा आएका टोलीहरुको मागलाई केन्द्र सरकारसम्म पुर्याउने नगरप्रमुख ढकालले प्रतिवद्धता जनाए। उनले पालिकाले सच्याउनु पर्ने र थप निर्णय गर्नुपर्ने भए छलफल गरेर सच्याउने बताए। अहिलेको भू उपयोग नीतिमा ५ देखि १० प्रतिशतसम्म मात्र राजस्व लाग्नेगरि राजस्व घटेको उनको भनाइ छ। भेरीगंगा नगरपालिका वडा नं ८ का पूर्व वडा अध्यक्ष पदमबहादुर खत्रीसहितको टोलीले भूमि सम्वन्धी समस्या र समाधानका लागि भेटेको भेटमा सहभागी जेबी बिश्वकर्माले बताए।