२०८३ वैशाख ४ , शुक्रबार

सिम्तामा पत्रकार टार्जनमाथि लठ्ठी प्रहार, एकजना पक्राउ



कमल गिरी (टार्जन)

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा एक पत्रकारमाथि कुटपिट भएको छ । सिम्ता–६ जामुने बजारमा टार्जन रिपोर्टरका सञ्चालक कमल गिरी (टार्जन)लाई स्थानीय यातायात व्यवसायी समितिका प्रतिनिधि नारायण शाहीले लठ्ठी प्रहार गरी कुटपिट गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बाँदेपिपलका अनुसार शुक्रवार दिउँसो बस समितिको विषयलाई लिएर गिरी र शाहीबीच विवाद भएको थियो । विवाद उग्र बनेपछि शाहीले गिरीमाथि लठ्ठी प्रहार गरेको प्रहरी निरीक्षक सुरेश सिंहले जानकारी दिए ।

घटनामा गिरीको टाउकोमा गम्भीर चोट लागेको छ । बजारमा टिकट काउन्टर (बस समितिमा) आफुलाई राख्न आग्रह गर्दा शाहीले अहिले मान्छे धेरै भएकाे बताउँदै इन्कार गरेको र त्यसपछि विवाद सुरु भएको गिरीले खबरदृष्टिलाई बताए ।

‘मैले तपाइँहरुको टिकट काउन्टरमा राख्नुहोस् भने उहाँहरुले मान्छे धेरै छन् अहिले राख्न मिल्दैन भन्नभयो,’ उनले खबरदृष्टिसँग भने,‘उहाँहरुले त्यति भनेपछि मैले छुट्टै काउन्टर खोल्दा शाहीले लठ्ठीले टाउकोमै प्रहार गर्नुभयो ।’

गिरीले टाउकोमा चोट लागेपछि जामुने बजारमा सामान्य उपचार गरी नेपालगञ्ज जाने तयारी गरेको बताए । घटनापछि कुटपिट गर्ने शाहीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार