
सुर्खेत । अज्ञात समूहद्वारा डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद शाहमाथि कार्यकक्षमै हातपात भएको छ। आज आइतवार दिउँसो साढे ३ बजे उनको कार्यालयमा बसेर काम गरिरहेको समयमा चार जनाको समूहले हातपात गरेको हो।
डिभिजन वन कार्यालयका सूचना अधिकारी अजय रावलले वीरबहादुर शाहीसहित चार जनाले प्रमुख शाहमाथि हातपात गरेको खबरदृष्टिलाई जानकारी दिए । उनले शाहीको ठेगाना भने खुल्न नसकेको बताए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले पनि घटनाको पुष्टि गर्दै हातपात कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।
केही दिनअघि प्रमुख शाहसहित अन्य कर्मचारीहरू कार्यालयमै बसेर मदिरा सेवन गरिरहेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शाहमाथि हातपात भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार