
सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ७८ हजार बढी बिरुवा हुर्काएको छ । सुर्खेतका चार पालिकामा रहेको नर्सरीमा ७८ हजार ४ सय बिरुवा उत्पादन गरेर हुर्काइएको हो । डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले वीरेन्द्रनगर, लेकवेशी, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा स्थायी बहुवर्षीय वन नर्सरी स्थापना गरेर ती बिरुवा हुर्काइएको जानकारी दिए ।
उनले वीरेन्द्रनगर र भेरीगंगामा १७/१७ हजार तथा लेकवेशी र सिम्तामा २२ हजार २ सय बिरुवा उत्पादन गरिएको बताए । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र सामुदायिक वन व्यवस्थापनलाई सशक्त बनाउन कार्यालयले ७८ हजार ४ सय बिरुवा हुर्काएको श्रेष्ठको भनाइ छ । उनकाअनुसार त्यसमा जडीबुटी बिरुवा, डाँले घाँस, बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् । प्रदेश सरकारको १७ लाख रुपैयाँमा वन कार्यालयले बिरुवा हुर्काइरहेको हो ।
कुन–कुन छन् बिरुवाहरू ?
अधिकृत श्रेष्ठकाअनुसार रिट्ठा, तेजपात, अमला, खयर, हर्रो, बर्रो, सिसौ, सितलचिनी, कोइरालो, किम्बु, टाँकी, बेल, निम, गोल्ड मोहर, वीरेन्द्र फुल, कल्कि फुल लगायतका विभिन्न प्रजातिका बिरुवाहरू हुर्काइएको छ । श्रेष्ठले यी बिरुवाहरूबाट काष्ठ, जडीबुटी, डाँलेघाँस, सौन्र्दर्यमूलक तथा धार्मिक प्रयोजनका लागि लगाइएको बताए ।
‘हामी आफैले स्थायी बहुवर्षीय नर्सरी स्थापना गरेर ७८ हजार बढी बिरुवा उत्पादन गर्न लागेका छौँ,’ प्रमुख श्रेष्ठले भने, ‘यी बिरुवा सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछन् ।,’ सडकलाई हराभरा र सौन्दर्य राख्नका लागि यी बिरुवा प्रयोग हुने गरेको उनको भनाइ छ । उनले प्रदेश राजधानी हरियाली कार्यक्रम अन्तर्गत सडक किनारा, सडक डिभाइडर, सार्वजनिक र धार्मिक क्षेत्र (विद्यालय, पार्क, मन्दिर आदि) मा रोपण गरी वीरेन्द्रनगर लगायतका अन्य जिल्लाका सहरी क्षेत्रमा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले यी बिरुवाहरू उत्पादन गरिरहेको बताए ।
यी बिरुवाहरूले वातावरणीय सुधार मात्र होइन, वनजन्य सम्पदाको दीर्घकालीन संरक्षणमा पनि योगदान पु¥याउने उनको दाबी छ । आइतबार नर्सरीमा लगाइएका विभिन्न बिरुवाहरूको अनुगमन समेत गरिएको छ ।
अनुगमनमा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनार, उपप्रमुख सचिन कुमार बडूवाल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत देवेन्द्र कुमार शाही, प्रदेश वन निर्देशनालयका निमित्त निर्देशक गणेश त्रिपाठी, सामुदायिक वन उपभोक्ता महासङ्घ सुर्खेतका अध्यक्ष चन्द्रप्रसाद थानी, डिभिजन वन कार्यालय सुर्खेतका वरिष्ठ वन अधिकृत प्रशान्त श्रेष्ठ, वरिष्ठ वन अधिकृत समीक्षा भुसाल, वन अधिकृत हरिस खत्री सब इन्जिनियर राजकुमार महत लगायतको सहभागी थिए ।
ज्येष्ठ नागरिक र पर्यटकका लागि ‘सिएम पार्क’
यसैबीच कार्यालयले ज्येष्ठ नागरिक तथा पर्यटकका लागि वीरेन्द्रनगरमा ‘सिएम पार्क’ निर्माण कार्य थालेको छ । कार्यालयका अनुसार मुख्यमन्त्री निवासको दक्षिणतर्फ करिब २९ लाख ११ हजार ३ सय ७५–रुपैयाँ लागतमा सो पार्क निर्माण गरिँदैछ । अधिकृत श्रेष्ठले उक्त पार्क ज्येष्ठ नागरिकलाई आराम र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले निर्माण गर्न लागेको बताए ।
साथै पर्यटन प्रवद्र्धन तथा विकासका लागि पनि उक्त पार्क निर्माण गर्न लागिएको हो । पार्क निर्माण सम्पन्न भएपछि सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको उनको भनाइ छ । उनकाअनुसार पार्कमा पर्खाल निर्माण, मेस फेन्सिङ, ब्लक बिछाउने, कर्व स्टोन, चौतारी र २ वटा गेट निर्माण गरिएको उनले बताए । यस्तै गुर्भाकोटको गंगामाला देउती बज्यै मन्दिरमा विभिन्न पूर्वाधार निर्माण गरिएको बताए । वन कार्यालयले चालु आवमा १५ वटा विकास कार्यक्रम सञ्चालन गरेको थियो ।