२०८३ वैशाख ४ , शुक्रबार

जाजरकोटमा भीडभाड र कर्मचारीमाथि हातपात भएपछि सरकारी कार्यालयमा प्रहरी परिचालन



जाजरकोट । जाजरकोटमा सेवाग्राहीको चाप हुने सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आर्थिक वर्षको मसान्तमा भुक्तानीसम्बन्धी कामको चाप बढ्ने भएकाले सुरक्षा सतर्कता बढाइएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीले सेवाग्राहीको भीड हुने कार्यालयहरूमा आवश्यकता अनुसार प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार आर्थिक मसान्तमा विभिन्न बहाना बनाएर कर्मचारीमाथि दबाब दिने र हातपात समेत गर्ने प्रवृत्ति देखिने भएकाले सुरक्षामा कडाइ गरिएको हो । उनले भने, ’आर्थिक मसान्तको अन्तिममा विभिन्न बहानामा भुक्तानी गराउन दबाब दिने, नभएमा कर्मचारीमाथि हातपात गर्ने घटनाहरू हुने भएकाले यस्तो अवस्थालाई ख्याल गर्दै कार्यालयहरूमा प्रहरी खटाइएको हो।,’

अधिकारी डाँगीका अनुसार जिल्लाका सामाजिक विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, नगरपालिकालगायतका कार्यालयहरूमा प्रहरी परिचालन गरिएको छ । आइतबार मात्रै डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमर प्रसाद शाहमाथि कार्यकक्षमै अज्ञात समूहद्वारा हातपात भएको भएको थियो । सोही घटनाले थप सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको प्रहरी स्रोतले बतायो ।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमबार