२०८३ वैशाख ४ , शुक्रबार

हिमालय बैङ्क शिवालय शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग



जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका–८ मा रहेको लक्ष्मी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई हिमालय बैङ्क लिमिटेडले शैक्षिक सामग्री सहयोग गरेको छ । बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गरेको हो ।

विद्यालय प्राङ्गणमा आयोजना गरिएको विशेष कार्यक्रममा हिमालय बैङ्क शिवालय शाखाले विद्यालयका सम्पूर्ण ४० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्कुल झोला, ट्रयाकसुट, कापी र कलम लगायतको स्टेशनरी सामग्री वितरण गरेको हिमालय बैङ्क लिमिटेड शिवालय शाखाका शाखा प्रबन्धक सन्दीप हमालले जानकारी दिए ।

उनले समाजप्रति उत्तरदायी बैङ्कको हैसियतले सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले यस्तो कार्यक्रम ल्याएको बताए । ग्रामीण क्षेत्रका विद्यार्थीहरू अझै पनि आधारभूत शैक्षिक सामग्रीको अभावमा रहेको भन्दै यस्तो सहयोगले उनीहरूको अध्ययनमा केही राहत मिल्ने विश्वास लिएका उनको भनाइ छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जस्बिर बुढा र प्रधानाध्यापक कर्णबहादुर वलीले सहयोगप्रति आभार व्यक्त गर्दै बैङ्कलाई धन्यवाद दिए । उनले सरकारी स्रोतले मात्रै सबै विद्यार्थीलाई धान्न कठिन भएकाले यस्तो बेला निजी क्षेत्रको सहयोग निकै महत्त्वपूर्ण हुने बताए । यस्तै वडाध्यक्ष तस्बिर वलीले यस्तो सहयोगले विद्यार्थीको अध्ययनमा थप प्रेरणा मिल्ने र उत्साह थपिने दाबी गरे ।

कार्यक्रममा बैङ्कका अप्रेसन इन्चार्ज जय बहादुर रावत अन्य कर्मचारी रितेश भण्डारी, गणेश पुन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको समापनमा विद्यालयको तर्फबाट हिमालय बैङ्कलाई सम्मान पत्र प्रदान गर्दै औपचारिक रूपमा धन्यवाद ज्ञापन गरिएको थियो । शिवालय गाउँपालिकामा सञ्चालित एक मात्र वाणिज्य बैङ्कको रूपमा रहेको हिमालय बैङ्कले यसअघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दै आएको छ ।

वृद्ध वृद्धाहरूलाई लक्षित गर्दै बैङ्कले सामाजिक सुरक्षा भत्ता वितरणलाई वडास्तरमै पुगी सेवा प्रदान गर्दै आएको छ । शाखा प्रमुख हमालले शिवालय गाउँपालिकाको भौगोलिक विकटता र ज्येष्ठ नागरिकको अवस्था हेरेर बैङ्कसम्म आउन नसक्ने नागरिकलाई लक्षित गरी स्थानीय सरकारको समन्वयमा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको समेत बताए ।

प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार