२०८३ वैशाख ४ , शुक्रबार

एक दशकदेखि मन्ताभीर र मध्यपहाडी लोकमार्ग अलपत्र

सिंहदरबारमा उठ्यो सवाल, सांसदहरूले मागे सरकारसँग जवाफ


सुर्खेत । मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोट खण्डको ८५ किलोमिटर सडक खण्डमा निर्वाध रुपमा सवारी साधन सञ्चालन नहुँदा यहाँका नागरिकले दैनिक सास्ती भोग्दै आएका छन् । छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भीर र भेरी नगरपालिका–१३ दारेगौरा क्षेत्रको भेरी नदीमाथिको पूलको निर्माण कार्य अलपत्र हुँदा सडक सञ्जाल अवरुद्ध भएको हो ।

पूल र सडक निर्माण ठप्प हुँदा जाजरकोटबाट रुकुम पश्चिम जोडिन नसकिने अवस्था सिर्जना भएको छ । यात्रुहरूलाई रिम्ना हुँदै करिब ६० किलोमिटरको फन्को मारेर सानीभेरी गाउँपालिका पुग्नुपर्ने बाध्यता छ । दैलेखतर्फ जान पनि मन्ता भीरको अवरोधका कारण यात्रुहरूले भेरी करिडोर हुँदै थलह बजार पुग्नुपर्ने अवस्था छ । यसै विषयमा गत बुधबारको सिंहदरबारमा बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले ‘काम शून्य, कुरा मात्रै भएको’ भन्दै आक्रोश पोखेका छन् ।

सांसद शक्तिबहादुर बस्नेतले दशकौंदेखि जाजरकोट खण्ड र भेरी नदी पूलको निर्माण नहुँदा स्थानीयले असहज स्थिति भोग्नुपरेको भन्दै सरकार गम्भीर नदेखिएको आरोप लगाए । उनले मन्त्री, सचिवसहितको उच्चस्तरीय टोलीले स्थलगत अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याउँदै समस्या समाधानको लागि तत्काल कदम चाल्न माग गरे ।

उसो त केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गको जागरण अभियानमा जाँदासमेत मन्ता भीर छलेर यात्रा गरेका थिए ।  उनले मध्यपहाडी भन्दै आधाबाटो मध्यपहाडी हुँदै भेरी करिडोर यात्रा गरेर मध्यपहाडीको यात्रा गरेको भनिएको थियो । त्यस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘पचण्ड’ ले समेत मन्ता भीर छलेर मध्यपहाडीको यात्रा गरेका थिए ।

६ वर्षमा ५५ किलोमिटर मात्रै कालोपत्रे
मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड निर्माणका लागि २०७६ माघ २८ गते शर्मा सिंह एण्ड ब्रोदर्स जेभीसँग २०७९ साउन २७ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । कुदुबाट सुरु भएर छेडागाड नगरपालिकाको सुयाडा सम्म पुग्ने यो खण्ड ८५ किलोमिटर लामो छ । अहिलेसम्म करिब ५५ किलोमिटर मात्रै कालोपत्र भएको छ भने बाँकी ३० किलोमिटर सडक चार वटा खण्डमा ठेक्का लगाएर काम भएको छ ।

यो चारवटै ठेक्का शर्मा सिंह एण्ड ब्रोदर्स जेभीलले संयुक्त रूपमा लिएको छ । त्यसमध्ये कुदुदेखि थलहमा सम्मको भागमा शर्मा सिंह एण्ड ब्रोदर्स जेभीले ठेक्का लिएको हो । पुरानो डिजाइनअनुसारको काम भएकाले समस्या देखिएको छ । ग्रेड हाई हुँदा गाडी जान सक्ने अवस्था नभएपछि त्यसको अहिले ‘एलाइनमेन्ट’ सहित चेन्ज गरेर अर्को ठाउँबाट लगिएको मध्यपहाडी राजमार्ग आयोजना निर्देशक रविन्द्रलालले दासले बताए । यी ठाउँमा काम गर्न प्राविधिक कुरा मिलाइरहेको दासको भनाइ छ । मन्ता भीर आसपासको क्षेत्रको काम पुरै बाँकी रहेको छ ।

पाँच पटक म्याद थप गर्दा पनि पुल अलपत्र
तीन वर्षभित्र सम्पन्न गर्ने गरी भेरी नदीमा पुल (स्ट्रील ट्रस्ट ब्रिज निर्माणका लागि २०६९ असार २९ गते वाईपी कन्सट्रक्सनसँग सम्झौता गरेको थियो । २०७२ असार २८ गते निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद रहेको यो पुल भ्याटबाहेक १३ करोड १३ लाख ५२ हजार ११४.५० रुपैयाँ लागतमा निर्माण गर्नुपर्ने सम्झौता थियो ।

पछि लागत संशोधन गरेर १३ करोड १३ लाख ४८ हजार ७४७ पु¥याएको छ । यो पुल निर्माणले गति लिन नसक्दा ५ पटक म्याद थप गरिएको थियो । त्यसपछि २०८० असार ३१ गते सरकारले ठेक्का तोडेको थियो । त्यसपछि २ पटक आह्वान गर्दा पनि ठेक्का लाग्न नसकेको आयोजनाले जनाएको छ ।

यसैगरी, सडक विभागका महानिर्देशक विजय जैसीले पनि मन्ता भीरमा ब्लास्टिङ गर्नुपर्ने प्राविधिक चुनौती रहेको स्वीकार्दै एक महिनाभित्रै सचिवसहितको टोलीले स्थलगत भ्रमण गरी समाधान निकाल्ने प्रतिबद्धता जनाए । राजमार्गअन्तर्गतकै भेरी नदी पुल निर्माणमा पनि ढिलाइ भएको छ । भेरी पुल र मन्ता भीरकै कारण यहाँका नागरिकले दैनिक समस्या भोग्दै आएका छन् ।

जाजरकोटको सडक निर्माण गर्नका लागि कार्यालय दैलेखमा रहेको छ । दैलेखबाट जाजरकोटको काम हेर्दा प्रभावकारी नभएको स्थानीय बताउँछन् । यही सडक छिटो निर्माण गर्नका लागि यहाँका नागरिकले धेरै पटक ज्ञापनपत्रसमेत बुझाइसकेका छन् ।

निर्माण छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा गत बुधबार बसेको समिति बैठकले उक्त सडक खण्डको भौतिक प्रगति नगण्य मात्रामा रहेको र हालसम्म पनि ट्र्याक खोल्ने कार्य सम्पन्न हुन नसकेको पाइएको भन्दै सबै संयन्त्र विकल्पको प्रयोग गरेर यथाशक्य छिटो सडक निर्माण कार्य सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै समितिले मध्यपहाडी राजमार्गमा अन्य विभिन्न खण्डमा पर्ने कामलाई तीव्रता दिने र बाटोको गुणस्तर सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिन समेत मन्त्रालयलाई निर्देश गरेको छ । बैठकले भेरी नदीमाथि पुल निर्माणका लागि २०७७ सालमा टेण्डर भएको भएता पनि हालसम्म निर्माण सम्पन्न नभएका कारण जनतालाई असुविधा भएकाले टेन्डर प्रक्रियामा उपयुक्त विकल्प खोज्दै आगामी आर्थिक वर्षभित्र उक्त पुल निर्माण सम्पन्न गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको पूर्वाधार विकास समितिका सदस्य तथा पूर्वमन्त्री बस्नेतले जानकारी दिए

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार