२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेतमा ‘टेष्टी खाजा घर’ भित्र जुवा खेल्दै गरेका ५ जना पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित हटियालाइनमा रहेको एक खाजाघरमा जुवा खेल्दै गरेका पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार साँझ ‘टेष्टी खाजा घर’ मा जुवा खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहलिे सो खाजाघर दैलेख घर भई हाल वीरेन्द्रनगर–६ मा बस्दै आएका ४१ वर्षीय तीर्थराज रेग्मीले सञ्चालन गर्दै आएको बताए । पक्राउ पर्नेहरूमा खाजाघर सञ्चालक रेग्मीसहित दैलेख गुँरास गाउँपालिका–६ का ३६ वर्षीय विनोद रोकाय, कालीकोट रास्कोट नगरपालिका–५ का ४० वर्षीय कटक शाही, सुर्खेत वीरेन्द्रनगर–३ का ३२ वर्षीय जगदिश रोकाय र सोही वडाका ५८ वर्षीय तिलक चपाई रहेका छन् ।

प्रहरीले घटनास्थलबाट नगद ३४ हजार ६ सय ४५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल फोनहरू र आठ गड्डी तास बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध जुवा तथा सट्टेबाजीसम्बन्धी कसूरमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार