सुर्खेत । गत असारमा सुर्खेत प्रहरीले एकै दिन यौनजन्य गतिविधिमा संलग्न २५ जनालाई पक्राउ ग¥यो । वीरेन्द्रनगरका विभिन्न होटेल तथा रेस्टुरेन्टमा यौनजन्य (वेश्यावृत्ति) कारोबार गर्दै गरिरहेका होटेल सञ्चालक, युवायुवती गरी २५ जनालाई पक्राउ गरेको थियो । जसमा ११ महिला र १४ पुरुष थिए । उनीहरू वीरेन्द्रनगरको हार्दिक होटेल, दँगाली, विकास होटेलबाट पक्राउ परेका थिए ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यावसायिक रूपमा सञ्चालित अवैध यौनजन्य गतिविधि बिस्तारै जरा गाड्दै गएको तथ्य प्रहरीले सार्वजनिक गरेपछि यस्ता आपराधिक क्रियाकलाप सतहमा आएका छन् । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यावसायिक रूपमा सञ्चालित अवैध यौनजन्य गतिविधि भइरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सक्रियतामा पछिल्लो डेढ महिनाको अवधिमा यौन धन्दामा संलग्न आरोपमा २९ जना पक्राउ परेका छन् ।
जसमा पक्राउ पर्नेमा १२ पुरुष, १२ महिला र तीन जना होटेल सञ्चालक छन् । यस्तै एक जना नाबालिका समेत रहेको खुलेको छ । ती होटेल सञ्चालकहरू नै व्यावसायिक रूपमा यौन धन्दा सञ्चालनमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । समाजका विभिन्न तहबाट आएका गुनासा र सूचनाका आधारमा प्रहरीले शून्य सहनशीलताको नीति अपनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीर राज शाहीले विशेष गरी होटेलहरूमा यौन धन्दा भइरहेका सूचना पाएपछि शङ्कास्पद स्थानमा छापा मारेर कारबाही तीव्र बनाएको दाबी गरे । प्रहरी उपरीक्षक (एसपी) शाहीले अनुसन्धानका क्रममा एक महिला र एक होटेल सञ्चालक एचआइभी सङ्क्रमित रहेको खुलेको बताए । एचआइभी सङ्क्रमित महिला र होटेल सञ्चालक नै यौन व्यवसायमा संलग्न भएको पुष्टिपछि घटनाले गम्भीर मोड लिएको प्रहरीले जनाएको छ ।
सङ्क्रमितहरूकै प्रत्यक्ष संलग्नताले अन्य यौनकर्मी र सेवाग्राहीहरूमा समेत सङ्क्रमणको जोखिम बढेको उनको भनाइ छ । उनकाअनुसार वीरेन्द्रनगरको बसपार्क, बुद्धपथ र हटिया लाइन लगायत क्षेत्रहरूमा यस्ता गतिविधि बढी हुने गरेका छन् । उनले हाल वीरेन्द्रनगरमा अनुमानित ३८ वर्षसम्मका ६० भन्दा बढी यौनकर्मीहरू क्रियाशील रहेको बताए ।
उनले पक्राउ परेको अधिकांशले घरायसी तथा आर्थिक अभावका कारण यौन व्यवसायमा लागेको बताउने गरेको जानकारी दिए । स्थानीय स्तरमा सामाजिक चेतना अभाव, बेरोजगारी, गरिबी, र कमजोर नियमन प्रणालीका कारण यस्तो आपराधिक धन्दा मौलाउँदै गएको प्रहरीको ठम्याइ छ । प्रहरीको अनुसार केही होटेल सञ्चालकले नियोजित रूपमा महिलाहरूलाई प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरेका छन् ।
सुरक्षा निकायले यस्ता क्रियाकलापमाथि नियन्त्रण गर्न अभियान तीव्र बनाएको दाबी गरे पनि स्थायी समाधानका लागि स्थानीय सरकार, सरोकारवाला निकाय र नागरिक समाजको समन्वय आवश्यक रहेको प्रहरीको धारणा छ । उपरीक्षक शाहीले होटेल सञ्चालकहरू भने पैसाको लाभमा यौनकर्मीहरूलाई होटेलमा राख्ने गरेको बताए । प्रहरीले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाइरहेको जनाएको छ ।