२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेतका उत्कृष्ट सामुदायिक वन समूह र कर्मचारी सम्मानित



सुर्खेत । सुर्खेतमा सक्रिय र उत्कृष्ट कार्यसम्पादन गर्ने सामुदायिक वन उपभोक्ता समूह तथा कर्मचारीहरुलाई डिभिजन वन कार्यालयले सम्मान गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी पुरस्कार वितरण गरिएको हो ।

पुरस्कृत समूहमा वीरेन्द्रनगर नगरपालिका–५ स्थित रामजानकी सामुदायिक वन उपभोक्ता समूह प्रथम, गुर्भाकोट नगरपालिका–१३ को लामपोखरी सामुदायिक वन उपभोक्ता समूह द्वितीय र सिम्ता गाउँपालिका–३ को औल्झायमा सामुदायिक वन उपभोक्ता समूह तृतीय भएका छन् । तीनै समूहका प्रतिनिधिलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यसैगरी डिभिजन वन कार्यालय सुर्खेत अन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने वन अधिकृत सुनिलकमल कँडेल, फरेष्टर इच्छाबहादुर भण्डारी, वन रक्षक डम्मरबहादुर गाहा र चौकीदार जंगबहादुर बुढालाई पनि दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको छ ।

उक्त सम्मान समारोहमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठ, वन निर्देशक गणेश त्रिपाठी, डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ सुर्खेत अध्यक्ष चन्द्रप्रसाद थानी, वन प्राविधिक संघ कर्णाली अध्यक्ष शेरबहादुर परियार, सचिव रोजिना श्रेष्ठ, मन्त्रालयका महाशाखा प्रमुखहरु कल्पना खत्री र दिपेश केसी तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रकी निर्देशक रेणुका न्यौपाने सहभागी थिए ।

सचिव श्रेष्ठले सामान्य लाग्ने कार्य पनि उच्च मनोबल र समर्पणका साथ गरिएमा महत्वपूर्ण नतिजा दिने भन्दै यस्ता सम्मानले काम गर्ने मनोबल बढाउने बताए । उनले सुशासनसहितको दिगो वन व्यवस्थापन, वन क्षेत्रको उत्पादन बृद्धि र वन पैदावारमा वन समूह र कर्मचारीबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख डिभिजनल वन अधिकृत श्रेष्ठले वन क्षेत्र, जङ्गल, वन्यजन्तु र जैविक विविधताको संरक्षणमा समर्पित वन समूहको भुमिका महत्वपूर्ण रहेको बताए । उनले ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’ को लक्ष्यसहित वन कार्यालय कार्यरत रहेको जानकारी गराउँदै संरक्षणमा सबैको योगदान आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार