२०८३ वैशाख ४ , शुक्रबार

कुशे गाउँपालिकामा १२२ योजना सम्पन्न



कुशे गाउँपालिका योजना अनुगमन संयोजक देविका सिंह याेजनाकाे अनुगमन गर्दै

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा गत आर्थिक वर्ष २०८१/०८२ मा १२२ वटा योजना सम्पन्न भएको छन् । गाउँपालिकाको १३५ वटा योजना रहेकामध्ये १२२ वटा योजना सम्पन्न भएका हुन् । १३ वटा योजना भने बजेट विनियोजन भएर पनि कार्यान्वयन नभएको गाउँपालिका पुर्वाधार विकास शाखा इन्जिनियर एवम् सुचना अधिकारी सुवास विक्रम शाहीले जानकारी दिए ।

उनले सम्पन्न भएका योजनामध्ये १०९ वटा उपभोक्ता समितिमार्फत र १३ वटा योजना निर्माण व्यवसायीमार्फत सम्पन्न गरिएको बताए । सुचना अधिकारी शाहीले केही योजनाहरू सम्पन्न गर्न प्रयास गरे पनि समय अभाव, प्राविधिक कठिनाइ तथा अन्य प्रशासनिक कारणले गर्दा ती योजना कार्यान्वयन हुन नसकेको बताए ।

‘समस्या हुँदा हुँदै पनि अधिकांश योजना सम्पन्न भएका छन्,’ शाहीले भने, ‘केही योजना भने विविध समस्याका कारण सम्पन्न हुन सकेनन।,’ कुशे गाउँपालिका योजना अनुगमन समितिका संयोजक एवम् उपाध्यक्ष देविका सिंहले योजनाको अनुगमन, निरन्तरको भेटघाट तथा ताकेताको प्रक्रियाले गर्दा अधिकांश योजना समयमा सम्पन्न गर्न सकिएको दाबी गरिन् । ‘हामीले नियमित अनुगमनलाई प्राथमिकतामा राख्यौं,’ उपाध्यक्ष सिंहले भनिन्,

‘स्थानीय सरकारको सक्रियता र जनप्रतिनिधिको सहकार्यले योजनाको कार्यान्वयनमा उल्लेखनीय सुधार आएको छ । अब बाँकी रहेका योजनाहरूलाई पनि यसै वर्षहरुमा कार्यन्वयनमा लैजान्छौ,’ उनले स्थानीय सरकारको तर्फबाट योजना कार्यान्वयनलाई प्राथमिकता दिइएको बताउँदै आगामी वर्षमा अझ प्रभावकारी ढंगले योजना सम्पन्न गर्न आवश्यक रणनीति तय गर्ने बताइन् ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार