२०८३ वैशाख ४ , शुक्रबार

कुशे १ काे आधारभूत स्वास्थ्य सेवा केन्द्र दुई हप्तादेखि बन्द

स्थानीय बासिन्दा अन्य वडा धाउँदै


कुशे–१ स्थित बन्द रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र ।

जाजरकोट । कुशे गाउँपालिका–१ काफलपाटामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र असार २८ गतेदेखि पूर्ण रूपमा बन्द छ । कार्यालय बन्द भएपछि सामान्य उपचारका लागि समेत स्थानीय बासिन्दालाई अन्य वडाका स्वास्थ्य चौकी धाउनुपर्ने बाध्यता परेको छ ।

सामान्य उपचारका लागि पनि आफुहरु कुशे–२ को टाँलेगाउँ स्वास्थ्य चौकी वा छेडागाड नगरपालिका–९ सेराखहरेसम्म पुग्नुपर्ने बाध्यता रहेको एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘हाम्रो नाम नहाल्दिनु होला यहाँ फेरि हामीलाई मिडियामा भन्यौ भनेर रिसाउँछन् ।,’ उनले भने,  ‘तर के गर्नु स्वास्थ्य सेवा केन्द्र २८ गतेदेखि बन्द छ हामी सामान्य उपचारका लागि पनि अन्य वडामा जान्छौ,’

कार्यालय बन्द भएकाे  एक हप्ता बढी भइसक्दा पनि किन र कसरी बन्द भयो भन्नेबारे जानकारी नभएको स्थानीयको भनाइ छ । स्वास्थ्य संस्था कार्यालय सहयोगीको जिम्मामा छाडेर अन्य सबै कर्मचारी सम्पर्कबिहीन रहेको स्थानीयको आरोप छ । यस विषयमा बुझ्न खोज्दा वडाध्यक्ष नर बहादुर सिंह र स्वास्थ्य संस्था प्रमुख विष्णु शाहीलाई पटक–पटक सम्पर्क गर्दा पनि दुवैले फोन उठाएनन् ।

कुशे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण रोकायले स्वास्थ्य संस्था दुई सातादेखि बन्द रहेको स्वीकार गरे । उनले इन्चार्जलाई सम्पर्क गर्दा फोन नउठाएको बताए । उनले भने, ‘वडाध्यक्ष स्वयम् संयोजक हुनुहुन्छ तर पनि कुनै चासो देखाउनु भएको छैन ।’ स्वास्थ्य संस्था बन्द भएपछि सामान्य उपचार, परिवार नियोजन, खोप, पोषण, तथा गाउँघर क्लिनिक सेवा प्रभावित भएको छ ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार