
जाजरकाेट। जाजरकोटमा पछिल्लो वर्षहरूमा तरकारी उत्पादनमा सुधार देखिएको छ । तरकारी तथा आलु उत्पादनमा वृद्धि भई जिल्लाबाहिर करोडौं रुपैयाँ बराबरको निकासी भएको छ । कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी नवीनराज आचार्यका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाबाट एक करोड ३७ लाख २५ हजार रुपैयाँभन्दा बढीको तरकारी जिल्लाबाहिर निकासी भएको हो ।
उनका अनुसार किसानले विशेष गरेर टमाटर, काउली, बन्दाकोभी, भेँडेखुर्सानी उत्पादन गर्छन्। गत वर्षको तुलनामा यस वर्ष तरकारी खेती गर्ने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि देखिएको छ । सुचना अधिकारीका अनुसार गत वर्ष १ हजार ७३ हेक्टर क्षेत्रफलमा १० हजार ३०० मेट्रिक टन तरकारी उत्पादन भएकोमा यस वर्ष १ हजार ७७ हेक्टरमा १० हजार ५५१ मेट्रिक टन उत्पादन भएको छ ।
यस्तै यसवर्ष ४ हेक्टर क्षेत्रफल थपिएको र २५१ मेट्रिक टनले उत्पादन वृद्धि भएको सुचना अधिकारी आचार्यले बताए । यस्तै यसवर्ष आलु उत्पादन पनि बढेको छ । यसवर्ष १ हजार ६२ हेक्टरमा २० हजार ५८१ मेट्रिक टन आलु उत्पादन भई ८१ लाख २० हजार रुपैयाँ आम्दानी भएको छ । अघिल्लो वर्ष १ हजार ५० हेक्टरमा १८ हजार ६०६ मेट्रिक टन उत्पादन भएको थियो ।
त्यस्तै, भटमास उत्पादनबाट १ करोड ८९ लाख रुपैयाँ आम्दानी भएको छ । उनले जिल्लाबाहिर पठाइएको तरकारीको मात्र तथ्यांक रहेको बताए । ‘धेरै किसानले प्रत्यक्षरूपमा हामीलाई जानकारी नदिई जिल्लाभित्रै बिक्री गर्नुहुन्छ, उनले भने, ‘त्यो तथ्यांक हामीसँग छैन ।,’ जाजरकोटबाट सुर्खेत, बाँके, रुकुमपश्चिम लगायतका जिल्लामा तरकारी निर्यात हुने गरेको छ ।
कृषि विकास कार्यालयको अनुदान, मल, सिँचाइ तथा अनुगमनको व्यवस्थापनका कारण यो प्रगति सम्भव भएको आचार्यको भनाइ छ । ‘हामीले यो वर्ष किसानलाई सक्रिय बनाउन सिचाई, मल, अनुदानका कार्यक्रम सञ्चालन ग¥यौं,’ उनले भने, भने, ‘अनुगमन पनि कडा बनायौं । त्यसको प्रतिफल अहिले देखिएको छ ।,’ यसैगरी प्रत्येक वर्ष तरकारीको उत्पादन बढ्दै गएमा जाजरकोट तरकारीमा आत्मनिर्भर बन्ने विश्वास लिएको उनले बताए ।