
सुर्खेत । कर्णाली प्रदेशले प्रदेशका विपद् जोखिम क्षेत्रका स्थानीय तहहरूमा घर बिमा कार्यक्रम लागू गरेको छ । जस अन्तर्गत पहिलो चरणमा १५ वटा स्थानीय तहका दुई सय १३ वडामा १६ हजार घर बिमा गरेको गरिएको छ । कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेको र प्राकृतिक विपद् लगायतको भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेट घर बिमा कार्यक्रम ल्याएको थियो ।
सोही कार्यक्रम अन्तर्गत प्रदेश सरकारले सोमवारदेखि घर बिमा कार्यक्रम सुरु गरेको हो । कर्णाली प्रदेश प्राकृतिक विपद्को उच्च जोखिमको रहेको र यहाँका नागरिकले विपद्का कारण वर्षेनी जनधनको क्षति व्यहोर्नु परेको अवस्थालाई मध्यनजर गर्दे कर्णाली प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकहरूको निजी आवासीय घरको प्राकृतिक विपद् लगायतको भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न घर बिमा कार्यक्रम सुरुवात गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार घर बिमा कार्यान्वयन गर्न घर बिमा कार्यक्रम सम्बन्धी कार्यविधि २०८१ गत फागुन १३ गते मन्त्रीपरिषद्बाट स्वीकृत भएको थियो । कार्यविधि बमोजिम घर बिमा कार्यक्रममा आबद्ध हुन प्रदेशका स्थानीय तहलाई सूचना गरिएकोमा १० जिल्लाका २३ वटा स्थानीय तहले प्रतिविद्धतासहितको पत्राचार गरेको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिए ।
प्रिमियम बापत ९८ लाख २४ हजार रकम भुक्तानी
सचिव शाहीकाअनुसार कार्यविधिको दफा ३ (४) बमोजिम नेपाल बिमा प्राधिकरणले छनौट गरी पठाएका २३ वटा स्थानीय तहमा २३ बटा बीमक कम्पनी खटाई निजी आवासको मूल्याङ्कन सुरु गरिएकोमा समयभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित विवरण पठाएका १५ वटा स्थानीय तहका १६ हजार ७२ घरको घर बिमा गरी पोलिसी जारी गरिएको हो ।
कार्यविधिको दफा ५ को २ बमोजिम प्रतिघर अधिकतममा २० लाखसम्मको मात्र प्रदेश सरकारले प्रिमियम व्यहोर्ने व्यवस्था रहेको र सो भन्दा माथि भए स्वयम् घर धनीले व्यहोर्नुपर्ने जानकारी पनि सचिव शाहीले दिए । प्रिमियम बापत जम्मा रु ९८ लाख २४ हजार ८ सय ९३ भुक्तानी भएको पनि सचिव शाहीले बताए ।
नागरिकको सम्पत्ति सुरक्षाको लागि घर बिमा : मुख्यमन्त्री
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश विपद्को उच्च जोखिमको क्षेत्र रहेकोले नागरिकको सम्पत्ति सुरक्षाको लागि घर बिमा कार्यक्रम सुरु गरिएको बताए । उनले सोमवार एक कार्यक्रमको आयोजना गरेर थोरै रकममा नागरिकको सम्पत्ति सुरक्षा हुने हुँदा प्रदेश सरकारले नवीनतम कामको थालनी गरेको जानकारी दिए ।
घर बिमा जस्तै प्रदेशमा कृषि, पशु बिमा कार्यक्रमको प्रभावकारी सञ्चालनको आवश्यकता औँल्याउँदै मुख्यमन्त्री कँडेलले सरकारले क्षतिपूर्ति दिने भन्दा बिमा कार्यक्रममार्फत सुरक्षा अपनाउने काममा अग्रसरता लिन स्थानीय तहलाई ध्यानाकर्षण गराए । उनले थोरै रकमले नागरिकको बसोबासको सुरक्षा हुने हुँदा यस्तो कार्यक्रम ल्याइएको बताए ।
के भन्छन् स्थानीय तहका जनप्रतिनिधि ?
कार्यक्रममा पालिकाहरूको तर्फबाट शारदा नगरपालिकाका उपप्रमुख सुुस्मिता सापकोटा, बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरी, बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारी, महाबै गाउँपालिका अध्यक्ष खेम सिंहलगायतले कर्णाली प्रदेश जस्तो विपद् जोखिमको प्रदेशमा घर बिमा कार्यक्रमले नागरिकको सुरक्षामा थप बल मिलेको बताए । उनीहरूले प्रदेश सरकारले थालनी गरेको कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाको तर्फबाट आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।
चालु आवमा ३ करोड ५० लाख विनियोजन
मन्त्रालयका उपसचिव उत्तम गौतमले चालु आर्थिक वर्ष ०८२÷०८३ मा घर बिमा कार्यक्रममा रु ३ करोड ५० लाख विनियोजन रहेको र अघिल्लो आर्थिक वर्ष घर बीमामा समावेश नभएका स्थानीय तहलाई चालु आर्थिक वर्षमा समावेश गरिनेछ । कार्यविधिको दफा ४ बमोजिम घर बीमालेखले भूकम्पबाट हुने क्षति, अग्निजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, खस्ने वा भासिने सम्बन्धी जोखिम, चट्याङजन्य जोखिम, आकासिए सामाग्रीजन्य जोखिम, धक्काजन्य जोखिम, स्वजलन सम्बन्धी जोखिम, बाढी तथा डुबानबाट क्षतिग्रस्त घर, हुलदङ्गा तथा आतंकवादजन्य जोखिम तथा अन्य प्राकृतिक विपद्को कारणले क्षतिग्रस्त घर समेट्ने उल्लेख छ ।
यी हुन् पहिलो चरणमा घर बिमा भएका पालिका
सल्यानको शारदा नगरपालिका घरधुरी ४ हजार ७ सय ७, दैलेखको ठाँटीकाध गाउँपालिका ५ सय २६, सुर्खेत गुर्भाकोट नगरपालिका ९ सय १६, लेकवेशी नगरपालिका २ सय ६५ बराहताल गाउँपालिका २ हजार ४६९, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ३३९, सानीभेरी गाउँपालिका २१२, कालिकोट तिलागुफा नगरपालिका ६५५, पलाता ६४३, महाबै ६८०, डोल्पा जगदुल्ला ६ सय ४०, जुम्ला सिञ्जा गाउँपालिका १ हजार ५४५, हुम्ला खार्पूनाथ ६६१, मुगु छाँयानाथ १ हजार ३११ र जाजरकोट बारेकोट ७३३ वटा घर धुरीको बिमा गरिएको छ ।