
जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले आर्थिक वर्ष २०८१/०८२ मा राजस्व संकलनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । कार्यालय प्रमुख एवम् प्रहरी सहायक निरीक्षक नन्द बहादुर बिष्टका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ४ हजार १ सय ५० वटा सवारी साधन कारबाही गरी २७ लाख ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको थियो ।
यस आर्थिक वर्षमा भने २ हजार ७ सय ४० सवारी साधनलाई कारबाही गरी २८ लाख ३६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । कारबाही गरिएको सवारी साधन अनुसार ट्रकबाट ६ लाख १६ हजार, बसबाट ३ लाख २५ हजार ५ सय, जीपबाट ६ लाख ७० हजार, ट्याक्टरबाट २ लाख ३२ हजार, मोटरसाइकलबाट ९ लाख ९ हजार ५ सय र अटोबाट ८३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।
प्रमुख बिष्टले यसवर्ष अघिल्लो वर्षको तुलनामा ७६ हजार रुपैयाँले राजस्व सङ्कलनमा वृद्धि भएको बताए । सवारी दुर्घटनाको सन्दर्भमा भने यसवर्ष दुर्घटनाको संख्या घटेको भए पनि मृत्यु र घाइते हुनेको संख्या बढेको छ । अघिल्लो वर्ष ७१ दुर्घटनामा ५ जनाको मृत्यु र १२७ जना घाइते भएका थिए भने यसवर्ष ६६ दुर्घटनामा २१ जनाको मृत्यु र १७२ जना घाइते भएका छन् ।
दुर्घटना न्यूनीकरणको लागि कार्यालयले १ हजार १ सय ६८ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । क्याम्पस, विद्यालय, चालक, सहचालक, सवारीधनी तथा पैदल यात्री लक्षित ती कार्यक्रमबाट ३३ हजार ३ सय ८२ जना लाभान्वित भएको उनको दाबी छ ।