२०८३ वैशाख ४ , शुक्रबार

कुशेकी उपाध्यक्ष देविका ‘शी लिड्स आइकन’को टप–६ मा

भाेट गरेर सहयोग गरिदिन आग्रह


सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंह शी लिड्स आईकनको उत्कृष्ट महिला जनप्रतिनिधिमा छनौट भएकी छन् । देशभरका ३१ प्रेरणादायी महिला जनप्रतिनिधिमध्ये सिंह टप–६ मा पर्न सफल भएकी हुन् ।गाउँपालिकाका अनुसार गत शनिवार देशभरका १ सय ३१ स्थानीय तहबाट महिला जनप्रतिनिधिहरुमध्ये निर्णायक मण्डलले छनोट गरी टप ३१ को सूची सार्वजनिक गरेको थियो ।

जसमा प्रदेशगत आधारमा कोशी ४, मधेश ५, बागमती ५, गण्डकी ४, लुम्बिनी ४, कर्णाली ४ र सुदूरपश्चिम ५ गरी जम्मा ३१ जना महिला जनप्रतिनिधि परेका छन् ।तीमध्ये ७ जना प्रमुख र २४ जना उपप्रमुख छन् । सिंह ६ नम्बरमा प्रेरणादायी महिला जनप्रतिनिधिको सूचीमा पर्न सफल भएकी हुन् । मध्यम वर्गीय परिवारमा जन्म भएकी सिंह २०७४ सालमा कुशे गाउँपालिका–९ वडाध्यक्षमा निर्वाचित हुँदै राजनीतिमा प्रवेश गरेकी थिइन् ।

राजनीतिमा आउनुअघि उनले करिब १२ वर्षसम्म शिक्षण पेशामा बिताएकी थिइन् ।आयोजकका अनुसार छनोट भएकामध्ये ७ जनालाई ‘आइकन’ को रूपमा विशेष सम्मान गरिनेछ । यसका लागि भोटिङ प्रणाली राखिएको छ । सिंहलाई राष्ट्रिय स्तरमा मतदान गर्नका लागि ई–सेवामार्फत ‘शी लिड्स एप्लिकेसन’ प्रयोग गरी भोट दिन सकिनेछ भने अन्तर्राष्ट्रिय भोटका लागि https://voting.mypay.com.np/ मा लगइन गरी ‘शी लिड्स एप्लिकेसनमा गई भोट गर्न सकिने छ ।

देश तथा विदेशमा रहेका सम्पुर्णले आफुलाई भाेट गरेर सहयोग गरिदिन उपाध्यक्ष सिंहले आग्रह गरेकी छन् । नेसर्टलिस्टका क्रममा महिला स्वास्थ्य, उद्यमशिलता, नीति र न्याय, जवाफदेहिता लगायतका सूचकहरूलाई आधार मानिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार