
जाजरकोट । जाजरकोटमा जङ्गलबाट ल्याएका विषालु च्याउ खाँदा एकै गाउँका ५ परिवारका ११ जना बिरामी परेका छन् । एकै पटक बिरामी भएका भेरी नगरपालिका ४ रानागाउँका ५ परिवारका ११ जनाको हाल जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
बिरामी हुनेहरूमा भेरी नगरपालिका ४ बस्ने वर्ष ५० का पदम बुढा उहाँकी श्रीमती ४२ वर्षीया राधिका बुढा, ४२ वर्षीय लिल बहादुर विक, २४ वर्षीया विमला विक रहेका छन् । यसै गरी, वर्ष ३६ का गणेश चदाँरा, २९ वर्षीया ज्योति शाह, पानसरा टमटा, १९ वर्षीय प्रकाश पुन, १९ वर्षीय चन्द्र बहादुर विक, लक्ष्मी शाही र प्रेम मल्ल रहेका छन् ।
उनीहरू सबैले बिहीबार जङ्गलबाट च्याउ ल्याएर बेलुका खाएको र खाए लगत्तै सबै जनालाई वान्ता आउने तथा बेहोस हुने समस्या देखिएपछि अस्पताल पुर्याइएको जनाएका छन् । जिल्ला अस्पताल जाजरकोटका प्रमुख डा. सुनिल पुनले बिरामीहरूको उपचार भइरहेको र सबै जना हाल खतरा मुक्त रहेको जानकारी दिए । बिहीबार राति १२ बजे अस्पताल पुर्याइएका उनीहरूको आकस्मिक कक्षमा उपचारपछि सुधार भइरहेको डा। पुनको भनाइ छ ।