२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेतको रामघाटमा नवनिर्मित प्रहरी भवन उद्घाटन



सुर्खेत को भेरीगंगा नगरपालिका–१३ मा रहेको नवनिर्मित प्रहरी चौकीको रामघाट सुर्खेतको भवन उद्घाटन गरिएको छ । बुधवार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भवनको उद्धघाटन गरेका हुन् । चौकी निर्माणका लागि गाल्वा/क्याराभान/सुपरस्टार जेभी काठमाडौं र जिल्ला प्रहरी कार्यालय सुर्खेतबीच २०७६ जेठ ११ गते सम्झौता भएको थियो ।

एक करोड ५७ लाख ५८ हजार ३८० रुपैयाँ लागतमा सम्झौता भएपनि भवन भने एक करोड ३२ लाख ७ हजार ७२ रुपैयाँमा सम्पन्न भएको हो । ३०२ वर्ग मिटरमा बनेको तिन तले भवनमा ब्यारेक, अफिस, गार्ड रुम, महिला र पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष, मनोरञ्जन कक्ष, शौचालय, मेस लगायतका संरचना छन् । नवनिर्मित प्रहरी चौकीको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार, उपकरणको बन्दोबस्त मात्र नभई प्रहरीको व्यवहार पनि जनमैत्री हुनुपर्ने औंल्याए ।

उनले नेपाल प्रहरी हिजो भन्दा आज दक्षता हासिल गर्दै गएको दाबी गरे । उनले निराशा बाँडेर जनताबाट विश्वास जित्ने नसकिने समेत बताए । दलीय मतभिन्नतालाई थाती राखेर जनतमाझ आशा र विश्वास दिलाउन सके राजनीति र विकासले सही मार्ग पहिल्याउने उनको भनाइ छ ।

‘एक अर्कालाई कमजोर देखाउन केही भएको छैन् भनेर निराशा बाँड्न हुँदैन्, ठूला तीन दल पालैपालो शासन सत्तामा छौं, उनले भने, ‘हामीले भएका राम्रा सकारात्मक कामहरु सत्तापक्ष प्रतिपक्षमा विभाजित नभई प्रष्ट भन्न सक्नुपर्छ, जसले जनतालाई व्यवस्थाप्रति भरोसा जगाउन मद्दत पुग्दछ ।’ मुख्यमन्त्री कँडेलले विकास जुन तहका सरकारले गरेपनि यही व्यवस्थाको उपज भएकाले सामूहिकतामा हेरिनुपर्ने धारणा व्यक्त गरे ।

साथै उनले अघिल्लो पुस्ता जस्तो अहिलेको पुस्तामा धैर्यता नभएकाले समाज र विकासको गति बुझेर अघि बढ्नुपर्ने बताए । ‘हामीले ५० वर्षपछि नयाँ प्रहरी चौकी पायौं, तर अहिलेको पुस्ताले यतिका वर्ष पर्खन सक्दैन्,’ उनले भने, ‘हामी जिम्मेवार ठाउँमा भएकाले इमान्दारपूर्वक काम गरेर विश्वास दिलाउन सकौं, जसले हामी मध्येबाटै चुनिने जनप्रतिनिधिलाई सहजता हुने हो ।,’

कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले प्रहरीलाई सबल, सक्षम र सुविधासम्पन्न बनाउने ध्येयका साथ विभिन्न स्थानमा भवन निर्माणको योजना सञ्चालन गरिएको बताए । प्रदेश सरकारका पूर्वमन्त्री खड्कबहादुर खत्रीले तमाम चुनौतीका बाबजुद भवन निर्माण कार्य पुरा भएको बताए ।

भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुविधासम्पन्न भवनबाट शान्ति सुरक्षा र अपराध नियन्त्रण जस्ता कार्यमा प्रहरी सफल हुनुपर्ने विचार व्यक्त गरे । यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीर राज शाहीले यस भवनले प्रहरीलाई नागरिक सेवा प्रवाहमा अतुनलिय सहयोग पुग्ने विश्वास लिएको बताए । साथै उनले भवन निर्माणसँगै प्रहरीको जिम्मेवारी पनि थप भएको बताए ।

तस्बिरहरु-

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार