हुम्ला। हुम्लामा एक महिला स्वास्थ्यकर्मीमाथि सामूहिक बलात्कार प्रयास गर्ने तीन जना पक्राउ परेका छन् । ताँजाकोट गाउँपालिका–३ मैलास्थित स्वास्थ्य चौकीमा कार्यरत इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हाे ।
मंगलबार राति करिब ११ बजे महिला स्वास्थ्यकर्मीलाई कोठामै बन्दक बनाएर बलात्कार प्रयास गरेको सूचनाको आधारमा छप्रेला प्रहरी चौकीको टोलीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी शंकर पोख्रेलले जानकारी दिए ।
प्रहरीका अनुसार मदिरा सेवन गरेका ती तीन जना स्वास्थ्यकर्मीको कोठामा प्रवेश गरी अभद्र व्यवहार गर्दै यौन दुर्व्यवहार प्रयास गरेका थिए । पीडित स्वास्थ्यकर्मीले सो घटना आफ्नो संस्थाको केन्द्रीय कार्यालयलाई जानकारी गराएपछि कार्यालयमार्फत प्रहरीसम्म विषय पुगेको हो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ