जाजरकोट । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर समेत ८ जनाविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्र बहादुर कठायत, जिन्सी शाखा प्रमुख तथा नायव सुब्बा कृतिबहादुर थापा र निर्माण व्यवसायीहरूमाथि विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
उनीहरूले भेरी नगरपालिकाको वडा नं. ६, ९ र १० का वडा कार्यालय भवन निर्माण कार्यको ठेक्का प्रक्रियामा अनियमितता गरी ३६ लाख २० हजार ५७८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी गरेको छ। मुद्दामा ठेक्का प्रक्रियामा संलग्न न्यू बिके/नहाकुली जेभी र त्यसका साझेदार न्यू बिके बिल्डर्स एण्ड सप्लायर्स की प्रोप्राइटर गंगा कुमारी खड्का तथा नहाकुली निर्माण सेवाका प्रो.प्राइटर चित्रबहादुर बोहरा समेत संलग्न गरिएको छ।अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचारमार्फत हिनामिना गरेको रकम बिगो समेत माग दाबी गरेको जनाएको छ।