२०८३ वैशाख ४ , शुक्रबार

सहास नेपालद्वारा सरोकारवाला र सञ्जाल संस्थाहरूबिच गोष्ठी

किसानमा सामाजिक र आर्थिक परिवर्तन ल्याएको दाबी


सुर्खेत । कर्णाली प्रदेशका ६ जिल्लामा खाद्य पोषण, उत्थानशीलता तथा सामुदायिक संस्थाहरूको सशक्तीकरणसम्बन्धी काम गर्दै आइरहेको सहयोगी हातहरूको समूह (सहास) नेपालले प्रदेशस्तरीय सरोकारवालाहरू र समुदायमा आधारित सञ्जाल संस्थाहरूबिच सहकार्य तथा गोष्ठी सम्पन्न गरेको छ । आइतबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित उक्त कार्यक्रममा प्रदेशका मुगु, कालिकोट, जाजरकोट, जुम्ला, दैलेख र सुर्खेत जिल्लामा हालसम्म सञ्चालन भएका कार्यक्रमहरूको समीक्षा, आगामी रणनीति र योजना प्रस्तुत गरिएको थियो ।

साथै, समुदायमा आधारित सञ्जाल संस्थाहरूको परिचय र त्यसको भावी लक्ष्यबारे समेत विस्तृत जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा सहास नेपाल कर्णाली कार्यक्रम संयोजक रोशनी घिमिरेले परियोजनाको समग्र विवरण प्रस्तुत गर्दै हाल ५ जिल्लाका ३६ हजार ६६० घरधुरीमा परियोजनाका गतिविधिहरू सक्रिय रहेको बताइन् । उनका अनुसार यो परियोजना हालसम्म १३ वटा नगरपालिका तथा गाउँपालिकामा सञ्चालनमा छ ।

सहास नेपालले १३ वटा समुदायमा आधारित सञ्जाल संस्था गठन गरिसकेको र थप २ वटा सञ्जाल गठनको तयारीमा रहेको समेत उनले बताइन् । ती सञ्जाल अन्तर्गत हाल ४५७ वटा समूह विभिन्न पालिकाहरूमा सक्रिय छन् । जसले स्थानीय स्तरमा समुदाय सशक्तीकरण, कृषि प्रवद्र्धन र आयआर्जनका क्षेत्रमा कार्य गर्दै आएका छन् । कार्यक्रममा सहभागी किसान तथा समुदायका प्रतिनिधिहरूले सहास नेपालका कार्यक्रमहरूले आफूहरूको आयआर्जन, सिप विकास, पारिवारिक सुधार, सामाजिक सहभागिता लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको अनुभव सुनाए ।

शिवालय सृजनशील रचनात्मक सञ्जाल संस्थाकी कोषाध्यक्ष बिमला खत्रीले परम्परागत कृषि प्रणालीबाट सुरु गरेको आफ्नो यात्रा अहिले प्रविधि प्रयोग गर्दै व्यावसायिक कृषितर्फ उन्मुख भएको बताइन् । उनले ‘पहिले महिलासँग एक रुपैयाँ पनि हुन्थेन, तर जब सहास नेपालले कृषि पेसामा लाग्न प्रेरणा दियो, तब महिलाहरूको पकेटमा समेत पैसा हुन थाल्यो। ,’

उनले थप भनिन्, ‘हिजोका दिनमा कृषि गर्नुपर्दैन भन्ने सोच थियो, तर अहिले त जागिर छाडेर पनि कृषि गर्नेहरू छन् । त्यसैले अब नेपालमै कृषि पेसाबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने विश्वास जागेको छ ।,’ यस्तै सहभागीहरूले सहासको सहयोगमा अब गाउँमै आत्मनिर्भर बन्ने, परिवार चलाउने र समुदायमा नेतृत्व लिने आत्मविश्वास विकास भएको बताए ।

प्रदेश सरकारको तर्फबाट उच्च प्रतिबद्धता
कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले किसानसँग सहकार्य गर्न प्रदेश सरकार सधैँ तयार रहेको बताए । ‘सङ्ख्या भन्दा पनि संस्थाले गरेको काम र ल्याएको परिवर्तन महत्त्वपूर्ण हो,’ मन्त्री भण्डारीले भने । उनले किसानलाई भगवान् सरह मानेर सम्मान गर्नुपर्ने बताउँदै अधिकांश कृषकले वन्यजन्तुबाट क्षति पु¥याउने खेती गरेको हुँदा त्यस भन्दा पनि वन्यजन्तुबाट क्षति नहुने कृषि उत्पादन गर्नुपर्ने सुझाव दिए ।

उनले प्रदेश सरकारले संस्थागत रूपमा यस्तो परियोजनामा आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता जनाए । कृषिमा आत्मनिर्भरता ल्याउनमा समुदायसँग मिलेर काम गर्नुपर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सहभागी कृषक समूहका प्रतिनिधि, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन अधिकृत, स्थानीय तहका कर्मचारी, सहास नेपाल शिवालयका प्रमुख हरिप्रसाद अधिकारी, अन्तर्निर्भर विकास समाज आइडीएस नेपाल दैलेखका सचिव दुर्गाप्रसाद अधिकारी, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

गोष्ठीमा सहभागीहरूले प्रदेशस्तरमै सहकार्य र साझेदारीका माध्यमबाट परियोजनाको दायरा विस्तार गर्नुपर्ने सुझाव दिए । त्यस्तै, समुदायमै आधारित सञ्जालको सशक्तीकरण गर्दै स्थानीय आत्मनिर्भरता, सिप विकास, खाद्य सुरक्षा र आयआर्जनमा थप ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार