
सल्यान । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा हिजो भएको गाडी दुर्घटनामा एकैघरका तीनसहित चारजना नेपालीको मृत्यु भएको छ। सल्यानको कुमाख गाउँपालिका- ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सोमबार भएको सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिए।
हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख- ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो। दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुने लक्ष्मी नवराजकी पत्नी हुन्। नवराज र हिमबहादुर गाडीको ढाला पछाडि बसेकाले हाम फालेर हानेर जोगाएका छन्।
ज्यान गुमाउने लक्ष्मी डिल्लीबहादुरकी माइला दाइकी बुहारी हुन् भने एकेन्द्र डिल्लीबहादुरका जेठा दाइका छोरा हुन्। घाइतेको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ। चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको प्रारम्भिक अनुसन्धानमा खुलेकाे छ । यता, जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस सम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई प्राप्त नभएको जनाएको छ। यो दुर्घटनामा गाडी चालक भारतीय नागरिकको पनि मृत्यु भएको छ।
मृतक सबैको पोष्टमार्टमपछि शव नेपाल ल्याउने तयारी छ। मृतकलाई किरिया खर्चसहित भारतीय पक्षले चार लाख २५ हजारका दरले राहत दिने जानकारी गराएको मल्लले बताए। यस्तै भारतीय पत्रिका ‘द हिन्दुस्तान टाइम्स’का अनुसार घटनापछि भारतीय दण्ड संहिता (भारतीय न्याय संहिता) को धारा १०६ अन्तर्गत लापरबाहीका कारण मृत्यु हुने कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जनाइएकाे छ ।