समाचार सारांश
- सुर्खेतमा काठमाडौं महानगरका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङविरुद्ध अनेरास्ववियुले प्रहरीमा उजुरी दर्ता गरेको छ।
- उनीहरूलाई जेन–जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीमा संलग्न भएको आरोप लगाइएको छ।
- मुलुकी अपराध संहिता दफा २४४ र २८५ अन्तर्गत उजुरी दर्ता भएको छ।
सुर्खेत । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र जेन–जी समूहका अगुवा तथा ‘हामी नेपाल’ नामक संस्थाका अध्यक्ष सुदन गुरुङविरुद्ध सुर्खेतमा पनि प्रहरीमा उजुरी परेको छ। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु अनेरास्ववियु कर्णाली प्रदेश संयोजक धर्मबहादुर शाहीको नेतृत्वमा आइतबार बालेन शाहविरुद्ध उजुरी दर्ता गरिएको हो।कर्णाली प्रदेश कमिटीले उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएको हो।
संयोजक शाहीका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २४४ (डाँका गर्न नहुने) र दफा २८५ (आपराधिक उपद्रव सम्बन्धी कसुर) अन्तर्गत उजुरी दर्ता गरिएको हो। उनका अनुसार गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को दुरुपयोग गरी सुर्खेत जिल्लाभित्रका विभिन्न भौतिक संरचना, सरकारी तथा निजी भवन, कार्यालयका कागजातहरू, र व्यक्तिगत सम्पत्तिहरूमा तोडफोड, लुटपाट र आगजनीजस्ता गतिविधि भएको र त्यसमा बालेन शाह र सुदन गुरुङको भूमिका रहेको आरोप उजुरीमा उल्लेख गरिएको छ।
अनेरास्ववियुका कार्यकर्ताहरूले वीरेन्द्रनगर–६ स्थित एमाले पार्टी कार्यालयबाट मोटरसाइकल र्याली निकाल्दै प्रहरी कार्यालय पुगेका थिए। यस्तै, राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश र जिल्ला कमिटी सुर्खेतले पनि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै जेनजी आन्दोलनका नाममा आगजनी र तोडफोड गर्नेहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन्।