२०८३ वैशाख ३ , बिहीबार

सर्केगाडमा ४ जना कुष्ठरोगका बिरामी फेला



हुम्ला । साइनिङ अस्पताल आइएनएफ नेपाल सुर्खेतको आयोजनामा सर्केगाड गाउँपालिका कार्यालय र स्वास्थ्य शाखाको सहकार्यमा सर्केगाडमा निःशुल्क छाला तथा कुष्ठरोग स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविर अघि असोज २८ गते सायाँ स्वास्थ्य चौकी र असोज २९ गते रोडीकोट स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूहका सदस्यहरुलाई कुष्ठरोग, फिस्टुला, अपाङ्गता र साइनिङ अस्पतालले उपलब्ध गराउने सेवाबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो।

त्यसपछि असोज ३० गते सायाँमा र ३१ गते रोडीकोटमा छाला रोगसम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको हो। दुई दिनको शिविरमार्फत कुल २८३ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। जसअन्तर्गत ११० जना सेवाग्राहीले सायाँमा र १७३ जनाले रोडीकोटमा सेवा प्राप्त गरेका थिए। उक्त अवसरमा ४ जना नयाँ कुष्ठरोगका बिरामी समेत पत्ता लागेको आयोजकले जनाएको छ।

शिविरमा साइनिङ अस्पताल सुर्खेतका कुष्ठरोग कन्सल्टेन्ट उदयनाथ योगी, हेल्थ असिस्टेन्ट जोनसन नेपाली, परियोजना अधिकृत लोकप्रसाद गौतम, गाउँपालिकाका स्वास्थ्य संयोजक किरण बुढाथोकीसहित सम्बन्धित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। त्यस्तै, व्यवस्थापन पक्षमा आइएनएफ नेपाल मुगुका जोलबहादुर बुढा लगायतको संलग्नता रहेको थियो।

शिविरमा निःशुल्क औषधि वितरण, घरमै पुगेर कुष्ठ प्रभावित व्यक्तिहरुको स्वास्थ्य परीक्षण तथा सेवा प्रदान गरिएको स्वास्थ्य संयोजक किरण बुढाथोकीले जानकारी दिए। उनले समुदायमै पुगेर सेवा उपलब्ध गराएकोमा आइएनएफलाई धन्यवाद व्यक्त गरे । शिविरका लाभग्राहीहरूले समेत नजिकमै निःशुल्क उपचार पाएकोमा विशेष आभार व्यक्त गरेका छन्। साथै, छाला रोगसँगै अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, सहायता सामग्रीको आवश्यकता मूल्यांकन तथा कृत्रिम अंग निर्माणका लागि सर्केगाड, खार्पुनाथ, अदानचुली, ताजाको र चंखेली गाउँपालिकाहरुसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ।

यस्तै, कार्तिकको अन्तिम हप्ताभित्र फिजियोथेरापिस्ट, अकुपेशनल थेरापिस्ट प्राविधिक र मेडिकल अधिकृतसहितको टोलीले हुम्लाका चार पालिकामा अपाङ्गता पहिचान तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रारम्भिक समझदारी भएको परियोजना अधिकृत लोकप्रसाद गौतमले जानकारी दिए।

प्रकाशित मिति : २०८२ कात्तिक २ गते आइतबार