समाचार सारांश
- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा एक थुनुवाको मृत्यु भएको छ ।
- मृत्यु भएपछि मृतकका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
- मृतकको मुद्दाको पेसी आज (शुक्रबार) नै तोकिएको थियो ।
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा एक जना थुनुवाको मृत्यु भएपछि मृतकका आफन्तहरूले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। शुक्रबार बिहान लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका ज वीरेन्द्रनगर– ११ पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएपछि आफन्तले प्रहरीको कुटपिटका कारण मृत्यु भएको आरोप लगाउँदै घटनाको उचित अनुसन्धानको माग गर्दै प्रहरी कार्यालय बाहिर प्रदर्शन गरेका हुन् ।
साथै उनीहरुले घटनाको छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा समेत छलफल गर्ने बताएका छन् । शुक्रबार बिहान ५ः५८ बजे ओछ्यानमै बेहोस अवस्थामा फेला परेका सुनारलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले अस्पतालमा मृत घोषणा गरेका थिए।
मृत्युपछि हिरासतको सीसीटीभी फुटेज हेरिएकोमा कुनै असामान्य गतिविधि नदेखिएको प्रहरीले जनाए पनि मृतकका आफन्तहरूले भने प्रहरीले संवेदनशील अंगमा हानेर मारेको भन्दै प्रदर्शन गरिरहेका हुन् । मृतक सुनार ७८ दिनदेखि प्रहरीको हिरासत कक्षमा थिए र शुक्रबार नै उनको मुद्दाको पेसी थियो।